ओलीले हिटलर जस्तै नेताहरूलाई दास बनाए: डा.भट्टराई - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

ओलीले हिटलर जस्तै नेताहरूलाई दास बनाए: डा.भट्टराई



काठमाडौँ – जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्टालिन र हिटलरको संज्ञा दिएका छन् ।

एमालेको चितवन महाधिवेशनमा सबै अधिकार आफूले लिएर निरंकुश शैलीमा पदाधिकारी चयन गर्न लागेको भन्दै भट्टराईले ओलीमा हिटलर र स्टालिन शैली रहेको बताएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै भट्टराईले ओलीका कारण रुसी मोडलका कम्युनिष्ट पाटी र नाजी पार्टी जसरी नेपालका कम्युनिष्ट पार्टीहरु सिद्धिने डर पैदा भएको बताए ।

‘खड्गप्रसादलाई अरूले नचिनेका हुन् कि मैले भन्ने छिटै फैसला होला जस्तो छ । म त उनलाई स्टालिन र हिटलरै देख्छ’, उनले ट्वीटमा लेखेका छन्, ‘स्टालिन र हिट्लरले आफ्ना सहकर्मीहरूलाई दासको झुण्डमा परिणत गरेझैं खड्गप्रसादले त्यही गर्दैछन्।’

चितवनको सौराहामा जारी एमालेको १० औँ महाधिवेशनमा सर्वसम्मत भन्दै ओलीले विधान मिच्दै सबै अधिकार आफैले लिएर पदाधिकारी चयन गर्ने तयारी गरेका छन् । जसको सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।