हर्क साम्पाङले राखिदिए केपी ओलीका दुई 'उपनाम' - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

हर्क साम्पाङले राखिदिए केपी ओलीका दुई ‘उपनाम’



धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि खनिएका छन् । हर्कले सामाजिक सञ्जालमा कडा टिप्पणी गर्दै ओलीलाई दुई वटा उपनाम पनि राखीदिएका छन् । एमाले अध्यक्ष ओलीले धरानको चुनावी सभालाई सम्वोधन गर्दै हर्कलाई जिताएर धरानबासीले गल्ती गरेको आशय व्यक्त गरेका थिए ।

एमाले अध्यक्ष ओलीले धरानमा शुक्रवार आयोजित चुनावी सभामा त्यहाँका स्थानीयलाई हर्क साम्पाङलाई जिताउने बेलामा आँखा नदेखेको भन्दै व्यंग्य गरेका थिए । त्यसमाथि हर्कले खानेपानी दिन नसक्ने भन्दै बिचरा भनेका थिए ।

‘यहाँका मेयरलाई खानेपानी भनेर कतिवटा घैला बोकुन विचरा ? कसको घरमा खानेपानी पु-याउने ?’ ओलीले सभामा भनेका थिए, ‘कोशीबाट पम्पिङ गरेर पानी ल्याएर एमालेले धरानवासीलाई खुवाउँछ, तपाईंहरू ढुक्क हुनुस् ।’

ओलीले नगरको बजेटले नपुग्ने भन्दै धरानको खानेपानीका लागि राष्ट्रिय बजेट चाहिने भन्दै साम्पाङप्रति कटाक्ष पनि गरेका थिए । ‘नगरको बजेटले त्यो आयोजना हुन्छ त ? हुँदैन । तर म केही भन्दिनँ, छान्ने बेला आँखा देख्नुभएन,’ ओलीले भने, ‘त्यत्रो कोसी त्यहाँबाट बग्छ धरान काकाकुल हुने कसरी मिल्छ ? ।’

त्यसपछि ओलीमाथि खनिएका हर्कले उनका दुई उपनाम राखेका छन् । त्यतिमात्रै होइन उनले ओलीलाई विभिन्न खाले कटाक्ष पनि गरेका छन् । हर्कले पहिलो स्टाटसमा ओलीलाई उपनाम दिँदै ‘हाउडे’ उपनाम दिएका छन् । त्यसलगत्तै फेरि ओलीलाई उभिएर भाषण समेत गर्न नसक्ने ‘गोज्याङ्ग्रा’ भनेका छन् ।

ओलीलाई सामाजिक सञ्जाल फेसबुकमा जवाफ दिँदै धरान नगर प्रमुख साम्पाङले भने गफाडी, हाउडी र गोज्याङ्ग्रा भनेका हुन् । ‘उभिएर भाषणसम्म गर्न नसक्नेले हर्क साम्पाङलाई चुनौती दिएर गएछ ! कठै बरा… गफाडी ! उसको घरको उसको व्यक्तिगत कमाइ जस्तो गर्दो रैछ ! राष्ट्र के हो भन्नेसम्म नबुझ्ने अनपढले राष्ट्रिय बजेटको कुरा गर्ने ? गोज्याङ्ग्रा…,।’

साम्पाङले लेखेको स्टाटसमा उल्लेख छ । साम्पाङले केही समय अगाडि सामाजिक सञ्जालमा अर्को स्ट्याटस लेख्दै ओलीले घरघरमा ग्याँसको पाइप पुर्‍याएको पानी जहाजमा कुदाएको भन्दै व्यंग्य कसेका थिए । ‘….ग्याँसको पाइप घर घरमा पुराएर पानी जहाजमा नेपालीलाई शयर गराउनेले कोसीको पानी ल्याउने गफ दिएछ ! म ल्याउँछु पानी कोसीको ! धेरै चुनौती नदिँदा हुन्छ हाउडेले ! ’

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा खानेपानीलाई नै मूल मुद्दा बनाएर मेयरका उम्मेदवार बनेका हर्कले जितेका थिए । उनले स्थानीय तह निर्वाचनको बेला धरानमा पानीको समस्या समाधान गर्ने बाचा गरेका थिए ।

मेयर निर्वाचित भएलगत्तै उक्त बाचा पूरा गर्न कस्सिएका साम्पाङले अन्ततः खर्दु र निशाने खोलाको पानी ल्याइसकेका छन् । आफ्नो कार्यकालमा कोशीको पानी ल्याएर धरानवासीलाई खुवाउने उनको प्रतिबद्धता रहेको छ ।