उडन्ते कुरा गर्ने ओलीलाई बाबुरामले फर्काए मुखभरीको जवाफ - Himal Post Himal Post
  • ९ श्रावण २०८३, शनिबार
  •      Sat Jul 25 2026
Logo

उडन्ते कुरा गर्ने ओलीलाई बाबुरामले फर्काए मुखभरीको जवाफ



काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मुखभरीको जवाफ फर्काएका छन् । उनले तथ्यहीन र अशोभनीय कुरा गरेको भन्दै ओलीलीई चुनौती समेत दिएका छन् ।

उनले पूर्वप्रम जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्नु शोभनीय नहुने बताउँदै ओलीलाई अध्ययन गर्न र प्रमाणित गर्न चुनौती दिएका छन् । छोरी मानुषीबारे बोलेका ओलीले भट्टराईलाई आम्दानीको श्रोत देखाउन भनेका थिए ।

एक कार्यक्रममा ओलीले भट्टराईको ‘कहाँको आम्दानीले छोरीलाई बेलायतमा पढाउनुभयो?’ भनेर भट्टराईको आम्दानीमाथि प्रश्न उठाएका थिए। उनले भनेका थिए, ‘तपाईंका छोराछोरीले बेलायतको शिक्षा, जहाँ कमसेकम २-४-५ लाख महिनाको खर्च हुन्छ, छोराछोरी कसरी पढाउनुभएको थियो भूमिगत हिँड्दा? कहाँको आम्दानीले?’

ओलीले आफूलाई त बेलायत जाने भिसा पाउन गाह्रो हुने समयमा बाबुरामका छोराछोरीले भिसा पाएको भन्दै भनेका थिए, ‘कसरी होला ? के जादु होला त्यसमा भन्नुस् त? एउटा भूमिगत क्रान्तिकारी नेताका छोराछोरीको बाउको नाउँ त चाहिन्छ, नागरिकता चाहिन्छ पासपोर्ट पाउन। कुन पासपोर्टबाट जानुभएको थियो? कहाँ भिसा लगाउनुभएको थियो बाबुरामजी बताउनुस् त?’

त्यसको जवाफ दिँदै बाबुरामले सामाजिक सञ्जालमा भनेका छन्, ‘मित्र खड्गप्रसादजी, पूर्व प्रम जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्नु शोभनीय भएन। हाम्री छोरी मानुषी ७ वर्षको उमेरमा जनयुद्धपूर्व २०४९-५१ मा आमा हिसिला छात्रवृत्तिमा वेलायत पढ्न गएको बेला सँगै गएर सँगै फर्केकी हुन्। त्यस यता उनी वेलायत गएको प्रमाणित गर्नोस् न!’