ओली तानाशाही बन्दैछन: तरुण दल अध्यक्ष - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

ओली तानाशाही बन्दैछन: तरुण दल अध्यक्ष



काठमाडौं- नेपाल तरुण दलले झापाबाट प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षण सुरु गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली तानाशाही बन्न खोजेकाले लोकतन्त्र बचाउन तरुण दलले देश भरि प्रशिक्षण कार्यक्रम गर्न लागेको नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेतले देश सञ्चारसँग बताए।

झापामा आइतबार सुरु भएको प्रशिक्षण कार्यक्रम देश भर गर्ने तरुण दलको योजना छ।

बिगतमा तरुण दलले युवाहरुका पक्षमा प्रयाप्त काम गर्न नसकेकाले संगठन सुदृढिकरण गर्दै सरकारले गरेका असंवैधानिक कामको बारेमा कार्यकर्तालाई जागरूप बनाउन प्रशिक्षण कार्यक्रम आयोजना गरिएको अध्यक्ष बस्नेतको भनाई छ।

उनले सञ्चारसँग भने, ‘प्रशिक्षण कार्यक्रमले पार्टी कार्यकर्ताको नेतृत्व विकास गर्न पनि सहयोग पुर्याउने छ।’

बस्नेत भन्छन्, ‘निर्वाचन पछि पार्टी केहि कमजोर भएको छ र जनतामा पार्टीले एजेण्डाहरु लगेर जान सकिरहेको छैन त्यसैले पनि संगठनलाई गतिशिल बनाउन सातै प्रदेशमा कार्यक्रम गर्न लागेका हौँ।’

केपी ओली सरकारले असंवैधानिक कामहरु गरिरहेको आरोप लगाउँदै बस्नेतले तरुण दलका सदस्यलाई सरकारले गरेका असंवैधानिक कामबारे स्पष्ट पार्नु प्रशिक्षणको उदेश्य भएको बताए।

केपी ओलीले सांसदको सपथ नलिई प्रधानमन्त्रीको सपथ लिनु संसदीय अभ्यास विपरित भएको बस्नेतको आरोप छ।

मन्त्रिपरिषद्ले गरेको निर्णयहरु चौविस घण्टा भित्रमा सार्वजनिक हुनु पर्नेमा सचिव सरुवा जस्तो सामान्य निर्णय पनि ४ दिन लुकाएर सरकारले तानाशाही प्रवृति देखाएको उनको आरोप छ।

यस्तै बस्नेतले गृह मन्त्रालय मातहत रहेको राष्ट्रिय अनुसन्धान विभाग, अर्थ मातहतको सम्पति शुद्धीकरण विभाग, राजश्व अनुसन्धान विभाग आफ्नो मातहतमा ल्याउनुले पनि प्रधानमन्त्री अधिनायकवादी बन्न खोजेको थप पुष्टी भएको दाबी गरे ।

उनले भने, ‘सबै शक्ति आफ्नै हातमा लिने अनि बिपक्षी दल  र सर्वोच्च अदालतलाई घम्काउने प्रधानमन्त्रीको रणनीति हो, प्रजातान्त्रिक प्रधानमन्त्री भएको भए केन्द्रिकृत शक्तिमा विश्वास गर्नु हुँदैन थियो।’

दुई तिहाई बहुमतको धम्कि देखाएर सर्वोच्च अदालतका प्रधानन्यायाधीशलाई असंवैधानिक तवरले हटाएको बस्नेतले आरोप लगाए। उनले भने, पुर्व प्रधानन्यायाधीशले गरेका क्रियाकलाप गलत भए महाभियोग लगाएर हटाउने संवैधानिक प्रावधान थियो।’

संसारका धेरै देशहरुमा निर्वाचित नेता पनि तानाशाही बनेको उदाहरण रहेको भन्दै बस्नेतले प्रधानमन्त्रीका पछिल्ला क्रियाकलाप पनि तानाशाही बन्ने प्रवृतिका देखिएको बताए।

प्रशिक्षण कार्यक्रममा सरकारले श्वेत पत्र मार्फत अर्थतन्त्रका बिषयमा छरेको भ्रमबारे पार्टी कार्यकर्तालाई प्रष्ट बनाउने योजना रहेको बस्नेतले सुनाए।

प्रशिक्षण कार्यक्रममा तरुण दलका जिल्ला समितिका पदाधिकारी, क्षेत्रीय सभापति, नगर सभापति र केन्द्रिय पार्सद सहभागी हुने छन्।

चैत्र २९ र ३० गते २ नम्बर प्रदेशको पर्सामा, बैशाख ३ र ४ गते ३ नम्बर प्रदेशको हेटौंडामा, बैशाख ६ र ७ गते ४ नम्बर प्रदेशको पर्वतमा, बैशाख ९ र १० गते ५ नम्बर प्रदेशको रुपन्देहीमा, बैशाख १२ र १३ गते ७ नम्बर प्रदेशको डडेलधुरामा र बैशाख ३० र ३१ गते कर्णाली प्रदेशको सुर्खेतमा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने तरुण दलको योजना छ।

प्रदेश तहको कार्यक्रम समाप्ति सँगै जिल्ला, नगरपालिका, गाउँपालिका र वार्ड तहमा पनि कार्यक्रमहरु गर्ने  तरुण दलले जनाएको छ।