तनावमा प्रधानमन्त्री: पार्टी भित्रैबाट पद छाड्न दबाब - Himal Post Himal Post
  • ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
Logo

तनावमा प्रधानमन्त्री: पार्टी भित्रैबाट पद छाड्न दबाब



काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीमाथि पार्टी अध्यक्षको जिम्मेवारी छोड्न दबाब बढेको छ । सरकार र पार्टी प्रमुख एउटै व्यक्ति नभई फरक फरक व्यक्ति हुनुपर्ने माग गर्दै पार्टी अध्यक्षको पूर्ण जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाललाई दिनुपर्नेगरी ओलीमाथि अध्यक्ष छाड्न दबाब बढेको हो ।

वरिष्ठ नेता माधवकुमार नेपालले ‘एक व्यक्ति एक पद’को विषयलाई उठान गरिसकेका छन् । उनले पार्टीमा दर्ता गरेको सात बुँदे असहमतिपत्रमा यो विषयलाई उठान गरिएको छ ।

नेकपा स्थायी कमिटीका सदस्य युवराज ज्ञवालीले पार्टीमा अब ‘एक व्यक्ति एक प्रमुख जिम्मेवारी’को व्यवस्था लागू गर्नुपर्ने बताए । एउटै व्यक्ति दुई फरक कार्यकारी जिम्मेवारीमा रहँदा सशक्त रूपमा काम अगाडि बढ्न नसकेको बताउँदै उनले एक व्यक्ति एक कार्यकारी जिम्मेवारी हुनुपर्नेमा जोड दिए ।

‘सरकार र पार्टी सञ्चालनको जिम्मेवारी एउटै व्यक्तिले लिँदा पार्टी सशक्त रूपमा अगाडि बढन सकेन,’ ज्ञवालीले भने, ‘हाम्रो पार्टी अहिले सत्तामा छ, वडाध्यक्षदेखि प्रधानमन्त्रीसम्म छन् । सरकार र पार्टी सञ्चालन गर्नु दुवै विषय उत्तिकै महŒवपूर्ण छ । त्यसैले, एक व्यक्ति एक प्रमुख जिम्मेवारी हुनुपर्छ ।’

प्रधानमन्त्री ओलीले सरकारमात्रै चलाउनुपर्ने र पार्टी चलाउने एकल जिम्मा अर्का अध्यक्ष दाहाललाई दिनुपर्ने उनको जोड रहेको छ । यसैगरी, पार्टीमा माथिदेखि तलसम्म जिम्मेवारी बाँडफाँड हुनुपर्ने माग उनले गरेका छन् ।

पार्टी र सरकारबीच अन्तरसम्बन्ध रहेको बताउँदै स्थायी कमिटी सदस्य ज्ञवालीले पार्टी र सरकार चलाउने

अलग–अलग विधान रहेको बताए । उनले भने, ‘सरकार जनतामा आधारित छ । पार्टी पनि जनआधारित हुन्छ । नेकपा जनआधारित कार्यकर्ता आधारित पार्टी हो । पार्टीभित्र एक व्यक्ति, एक प्रमुख जिम्मेवार दिनुपर्ने कुरा टेक्निकलजस्तो लाग्न सक्छ । तर, अब यसलाई लागू गर्नुपर्छ । अहिले त आवाज उठ्न थालिसकेको छ ।’

अहिले पनि पार्टीका नेता तथा कार्यकर्ताहरू सरकार र पार्टीको प्रमुख जिम्मेवारीसहित दोहोरो भूमिकामा रहेको सुनाउँदै ज्ञवालीले यसले राम्रो नतिजा नदिने टिप्पणी गरे । उनले भने,

‘अहिले पनि कुनै नगरपालिकाका प्रमुख, पार्टी कमिटीको अध्यक्षका रूपमा कार्यरत छन् । अब त्यहाँ के होला ? त्यहाँको कामको मूल्यांकन कसले गर्ने ? त्यसैले यस्तो अवस्थामा राम्रो परिणाम आउँदैन ।’

उनले नेकपाभित्र अब चीन र रुसजस्तो एकै व्यक्तिले पार्टी र सरकार चलाउन नहुने धारणा राखे । उनले भने, ‘हामी चीन र रुसले जस्तो चलाउन सक्दैनौं । सरकार चलाउनका लागि प्रधानमन्त्रीको अत्यन्तै व्यस्तता हुन्छ । त्यसैले, अब प्रधानमन्त्री सरकारमा मात्रै केन्द्रित हुनुपर्छ । पार्टीको जिम्मेवारी दाहाललाई दिनुपर्छ । उहाँलाई सरकार चलाउनमा पार्टीभित्रबाट भरपुर सहयोग र समर्थन गर्नुपर्छ ।’

पार्टीको महाधिवेशन नहुन्जेलसम्म नेकपाभित्र दुई अध्यक्ष बाध्यता भएको उनको भनाइ छ । ‘केन्द्र, प्रदेश र स्थानीय तहमा पनि एक व्यक्ति, एक प्रमुख जिम्मेवारी नियमलाई लागू गर्नुपर्छ,’ उनले भने । ज्ञवालीले अब आउने स्थायी समिति र केन्द्रीय समितिको बैठकमा ‘एक व्यक्ति एक प्रमुख जिम्मेवारी’को व्यवस्थाबारे निर्णायक छलफल हुने सुनाए । उनले थपे, ‘यस विषयमा सचिवालय बैठकको प्रस्ताव हेर्न बाँकी छ ।’

उनले वर्तमान प्रधानमन्त्री ओली संसद्बाट निर्वाचित प्रधानमन्त्री भएकाले र दुईवटा बजेट ल्याएकाले बजेट कार्यान्वयनलगायतका काम गर्न पनि प्रधानमन्त्रीबाट ओलीलाई बदल्न नहुने जिकिर गरे । उनले भने, ‘सरकारको नेतृत्व ओलीजीले गर्ने हो र दाहालजीलाई पार्टी चलाउन एकल अधिकार दिनुपर्छ । प्रधानमन्त्रीमा ओलीजीलाई पार्टीभित्रबाट भरपुर सहयोग गर्नुपर्छ ।’

नेता ज्ञवालीले प्रचण्डलाई पार्टी अध्यक्षको जिम्मेवारी दिइए राम्रोसँग सञ्चालन हुने र यसले राम्रो नतिजा दिने पनि विश्वास दिलाए । त्यस्तै, उनले वर्तमान सरकारले राम्रै काम गरिरहेको पनि सुनाए । उनले भने, ‘सरकार चलेकै छैन भन्ने होइन । चलेकै छ । तर, अझै धेरै गर्नुपर्छ । अहिले पनि सरकारले धेरै राम्रा–राम्रा निर्णयहरू गरेको छ ।’