ओली सुध्रिए होलान् भन्ने आशा थियो तर होइन रहेछ: प्रचण्ड - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

ओली सुध्रिए होलान् भन्ने आशा थियो तर होइन रहेछ: प्रचण्ड



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दम्भ अझै नगएको बताएका छन्।

माओवादीबाट विजयी स्थानीय तहका जनप्रतिनिधिहरूलाई बुधबार काठमाडौंमा प्रशिक्षण दिने क्रममा दाहालले ओलीबारे यस्तो टिप्पणी गरेका हुन्।

स्थानीय तह निर्वाचनमा नराम्रो पराजय भोगेर पनि एमाले अध्यक्ष ओलीले संसदमा तीन घण्टासम्म बोलेर दम्भ देखाएको बताए।

‘यति ठूलो धक्का ब्यहोर्दा पनि दम्भ त उस्तै रहेछ। सुध्रिए होलान् भन्ने आशा थियो तर होइन रहेछ’, उनले भने, ‘उल्टै माओवादीलाई कांग्रेसको बैसाखी टेकेर हिँडेको आरोप पो लगाए।’

संसदमा ओलीको तीन घण्टा लामो भाषणबारे टिप्पणी गर्दै प्रचण्डले मन भने रोएको बताए।

‘भाषणमा जे भने पनि मन त रोएकै छ नि!’, उनले ओलीतिर लक्षित गर्दै भने, ‘माओवादीलाई गुगलमा खोज्दा पनि भेटिँदैन भनेका थिए चुनाव अगाडि। तर अहिले त गुगलमा मात्रै होइन, पूरा शक्तिका साथ माओवादी खडा भएको छ।’