केशव स्थापितको अगाडी कोही चर्चा गर्न लायक छैनन्: ओली - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

केशव स्थापितको अगाडी कोही चर्चा गर्न लायक छैनन्: ओली



प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा उठेका अन्य दलका उम्मेदवारहरु चर्चासमेत गर्न लायक नरहेका बताएका छन्।

अध्यक्ष ओलीले उम्मेदवार बन्ने इच्छा गर्नु अन्य दलका उम्मेदवारको अधिकारको कुरा भए पनि उनीहरु चर्चा गर्न लायक नभएको बताएका हुन्।

अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आवश्यक्ता नै नभएका अन्य दललाई छोडेर सूर्य चिन्हमा मतदान गरी एमालेका उम्मेदवारहरुलाई विजयी गराउन पनि सबैलाई आह्वान गरे।

अध्यक्ष ओलीले काठमाडौंलाई विश्वकै नमूना, सफा राजधानी बनाउने र बागमती, विष्णुमती नदीलाई पूर्ण सफा पार्ने संकल्पसाथ एमालेले काठमाडौं महानगरपालिकाको उम्मेदवार बनाएको पनि बताए।

उनले केशव स्थापितको अनुभव र अन्य युवा उम्मेदवारहरुको जोशलाई मिलन गरेर काठमाडौं महानगरपालिकालाई आफ्नो पार्टी समृद्ध बनाउन चाहेको पनि स्पष्ट पारे।

‘कसैको उम्मेदवारीको बारेमा म केही भन्न चाहन्न। किनभने चर्चा गर्न लायक नै छैनन् । केही कुरा गरिरहनु पर्ने आवश्यक्ता नै छैन । त्यसकारण म कसैबारे केही भनिरहन चाहन्न’, उनले भने, ‘कतिपय साथीहरुले इच्छा गर्नु भएको छ । इच्छा गर्न पाइन्छ । उहाँहरुको अधिकारको कुरा हो । उहाँहरुको इच्छालाई सलाम गरौं । सूर्यमा भोट हालौँ । एमालेलाई जिताऔं, काठमाडौंलाई सफा गरौं।’

अध्यक्ष ओलीले पार्टीको चुनावी घोषणा पत्र र स्थानीय तहको प्रतिवद्धता पत्र लिएर चुनावी प्रचार अभियानलाई तीव्रता दिन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।

उनले मजदुरहरुको हक, अधिकार सुनिश्चित गर्न एमाले सदैव तयार रहेको पनि पटकपटक दोहोर्‍याएका छन्।