तन्नेरी पुस्ता समेट्न ओलीले अपनाएको फरक शैली - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

तन्नेरी पुस्ता समेट्न ओलीले अपनाएको फरक शैली



एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १२ दिने चुनावी प्रचारका क्रममा विभिन्न क्षेत्रका व्यक्तिसँग घुलमिल गर्ने र उनीहरूको समर्थन बटुल्ने कोसिस गरिरहेका छन्।

ओली अहिलेको तन्नेरी पुस्तालाई समेट्ने लक्ष्यका साथ गत शुक्रबार राति चुनावी र्‍याप गीत सार्वजनिक गर्न ठमेलस्थित नाइटक्लब लर्ड अफ द ड्रिंक्स (एलओडी) पनि पुगे। उनी भर्खरै मताधिकार पाएका सहरका तन्नेरी पुस्ताको ध्यान तान्न एलओडी पुगेका हुन्।

चुनाव नजिकिँदै गर्दा ओली एमालेको चुनावी र्‍याप गीत सार्वजनिक गर्न मात्र होइन, युवालाई सूर्य चिह्नमा आकर्षण गर्न पनि एलओडी पुगेका थिए। युवा पुस्तामाझ लोकप्रिय रहेको हिपप र्‍याप गीतमा ओलीले राष्ट्रिय झन्डा हल्लाएर एलओडीमा उपस्थित युवालाई आफूतिर आकर्षित गरेका थिए।

सहरी युवा नाइट क्लबमा झुम्मिने गरेपछि ओलीले त्यहाँको मनोविज्ञानलाई आफ्नो पक्षमा पार्ने सन्देश दिएका थिए। उनले त्यहाँ आफ्नो बारेमा बनाइएको र्‍याप गीत सार्वजनिक गरेका थिए तर त्यो गीत युट्युबमा भने एक साताअघि नै सार्वजनिक भएको थियो।

२०७४ को निर्वाचनमा ‘सही पनि
एमाले मै पनि एमाले’ भन्ने गीत निकै लोकप्रिय भएको थियो। लोकगायक बद्री पंगेनीले गाएको सो गीतको लोकप्रियता कायमै रहेका बेला अहिले ‘सहर सहरमा ओली’ र्‍याप गीत बनाइएको हो।

ओली प्रायः राति ८ बजेपछि घरबाट बाहिर निस्कँदैनन्। तर त्यस दिन ओली आफैंले एलओडी जाने प्रस्ताव गरेपछि सुरक्षा व्यस्था मिलाएर त्यहाँ पुर्‍याइएको थियो। ओली जानुअघि नै एलओडी खचाखच भरिएको थियो।

ओली अहिले जहाँ पुग्छन्, त्यहाँको दृश्यसहितका तस्बिर सामाजिक सञ्जालमा राख्छन्। त्यस दिन पनि ओलीले र्‍याप गीत सार्वजनिक गर्न आफू एलओडी पुगेको उल्लेख गर्दै फेसबुकमा तस्बिरहरू पोस्ट्याएका थिए। ‘सहर सहरमा ओली’ नाम दिइएको उक्त गीतमा ओलीले नागरिकता विधेयकमा अडान लिएको, भारतद्वारा अतिक्रमित भूभाग नक्सामा राखेको, उनी राष्ट्रवादी नेता भएकोलगायत विषय समेटिएको छ।

पहिले पहिलेका चुनावमा प्रायः लोकदोहोरीमार्फत प्रचारप्रसार हुने गरेको भए पनि पछिल्लोपटक भने दलहरूले युवामाझ लोकप्रिय रहेका विधामा गीत बनाउन थालेका छन्। यसैलाई मनन गर्दै ओलीले र्‍याप गीत निकालेका हुन्। र्‍याप गीत निकाल्नुअघि ओलीले विद्यार्थीसँग अन्तरक्रिया गरेका थिए।

संविधान दिवस असोज ३ मा वाकाथन गर्दै चुनावी सन्देश दिएका ओली कात्तिक १८ पछि देशभर एक्लै भाषण गर्दै हिँडेका छन्। ४० जिल्लाका ५५ निर्वाचन क्षेत्रको चुनावी सभालाई सम्बोधन गर्ने लक्ष्य राखेका ओलीले मंगलबार बिहान ललितपुरको सैंबु भैंसेपाटी क्षेत्रका नागरिक अगुवा तथा सो क्षेत्रमा बसोबास गर्ने सेलिब्रिटीसँग पदयात्रा गरेका छन्। आमसभामा सम्बोधन गरेर काठमाडौं आएको मौकामा भैंसेपाटीमा नागरिक समाजले आयोजना गरेको पैदलयात्रामा उनी सहभागी भएका हुन्।

ओलीले यसका अतिरिक्त चुनावी वातावरण आफ्नो पक्षमा ल्याउन ‘चुनावी प्रचारप्रसार भर्चुअल प्लेटफर्म’ लाई पनि प्रयोग गरेका छन्। राजनीतिक दलले चुनावी प्रचारप्रसारलाई कागजीभन्दा गीतसंगीत तथा भर्चुअल प्लेटफर्मलाई प्रयोग गरिरहेका बेला ओलीले भने त्यसमा केही फरकपन दिएका छन्।

सबै उमेर समूहका मानिससँग घुलमिल गरी आफूलाई परिवर्तन गर्दै लैजाने र उनीहरूको मन जित्ने कोसिसमा ओली लागिपरेका छन्।

राजनीतिक भाषणका साथै समाजका सबै व्यक्तिहरूसँग घुलमिल गरी ओलीले मनोवैज्ञानिक रूपमा उनीहरूलाई एमालेतर्फ आकर्षित गरिरहेका छन्।

प्रचारकै क्रममा ओली कात्तिक १६ गते काठमाडौं क्षेत्र नम्बर १ मा पर्ने त्रिपुरेश्वरस्थित धार्मिकस्थल महादेव मन्दिरको दर्शन गर्न पनि पुगे। काठमाडौं १ का एमाले उम्मेदवार किरण पौडेललाई लिएर ओली त्यहाँ पुगेका थिए।

गठबन्धन दलका अन्य नेताहरू आफ्नोबाहेक अन्य क्षेत्रमा जान नसकिरहेका बेला ओली भने समय मिलाएर देशव्यापी भिन्नभिन्न शैलीमा दौडधुप गरिरहेको टपेन्द्र कार्कीले नागरिकमा लेखेका छन्।