ओलीको पुरानै शैली: दस भाई 'बायस', आफ्नो समूहका नेतासँग छुट्टै 'मिटिङ' - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

ओलीको पुरानै शैली: दस भाई ‘बायस’, आफ्नो समूहका नेतासँग छुट्टै ‘मिटिङ’



काठमाडौं- नेकपा एमालेमा अहिले दस भाई पक्षधर र अध्यक्ष केपी शर्मा ओलीबीच फेरि तिक्तता देखिएको छ । स्थानीय निर्वाचनमा अनपेक्षित हार व्यहोरेपछि ओलीविरुद्ध अभिव्यक्ति दिन थालेपछि एमालेमा फेरि तनाव बढेको हो । पछिल्लो समय घनश्याम भुसाललगायतका नेताहरूले चुनाव हार्नुको कारण ओली नै भएको भन्दै आलोचना गर्न थालेका छन् ।

ओली समूहकै केही नेताहरूले पनि दस भाई पक्षको लयमा लय मिलाउन थालेकाले ओलीले आफू विरोधी आवाज दबाउने तयारी गरेको बताइन्छ । स्थानीय तहको निर्वाचन अगाडी भरिभराउ हुने ओली निवास पनि अहिले खाली खाली देखिन थालेको, भेटघाटको निम्ति नेता तथा कार्यकर्ताहरु जाने क्रम कम हुन थालेको बताइन्छ ।

सार्वजनिक कार्यक्रममा आफ्नो भाषण सुन्ने कार्यकर्ता कम आउन थालेको भन्दै आयोजकमाथि खनिएका ओली आफ्नै निवासमा पनि नेता कार्यकर्ता आउन छाडेकोले नयाँ रणनीति बनाउन थालेका छन् । दस भाई पक्षको आलोचनाकै कारण कार्यक्रम र निवासमा कार्यकर्ताको कम उपस्थिति हुन थालेपछि अर्को निर्वाचनको तयारीमा जुटेका ओली सशंकित हुन थालेका छन् ।

आफ्नो विपक्षमा बोल्नेहरूलाई कारबाही गर्न दवाव दिएका ओलीले बिहिबार आफू निकट नेतासँग गोप्य छलफल गरेको पाइएको छ । ओली निवास बालकोटमा बिहिबार केहि नेताहरू पुगेका थिए । नेताहरु सुरेन्द्र पाण्डे र डा. राजन भट्टराईलगायतका नेताहरूले उनलाई भेट गरेर केहीबेर छलफल गरेका थिए । स्रोतका अनुसार सुरेन्द्र पाण्डेसहितका दस भाई पक्षसँग खासै नखुलेका ओलीले आफ्नो समूहका नेताहरूसँग लामो छलफल गरेको बताइएको छ ।

अध्यक्षसँग बिहान दुई घण्टा संयुक्त भेटवार्ता भएपनि सुरेन्द्रलगायत दस बुँदे पक्षका नेताहरू हिँडेपछि आफ्नो समूहसँग भने उनले गोप्य रूपमा लामो समय छलफल गरेर बिताएको बताइएको छ । पाण्डे निस्केपछि सोही स्थानमा अध्यक्ष ओली र अध्यक्षका विदेश मामिला सल्लाहकार भट्टराईलगायतका नेताहरूसँग करिब ३ घण्टा गोप्य वार्ता गरेको स्रोतको दाबी छ ।

यसअघि पनि दस भाई पक्षका नेताहरूलाई पेल्दै आएका ओलीले उनीहरू निस्केपछि आफ्नो समूहका नेताहरूसँग गोप्य तरिकाले गरेको छलफललाई अर्थपूर्ण मानिएको छ ।