'माधव नेपाललाई बिसौं पटक फोन गरेँ, जहाँ बोलाए त्यही पुगेँ' - Himal Post Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

‘माधव नेपाललाई बिसौं पटक फोन गरेँ, जहाँ बोलाए त्यही पुगेँ’



काठमाडौं- नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि आफूले सक्दो प्रयास गरेको बताएका छन्। शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा ओलीले एमाले पार्टीको एकता कायम राख्न पार्टी फुटाएर गएका माधवकुमार नेपालसँग बिसौ पटक फोन गरेको स्पष्ट पारे।

‘एमाले सिध्याउँछु भनिसकेपछि, देशलाई अप्ठ्यारोमा पार्छु भनिसकेपछि सम्झाएर हुन्छ ?’ उनले भने, ‘हामीले सम्झाउन खोज्यौँ। बुझाउन खोज्यौं। मैले बिसौ पटक फोन गरेँ। जहाँ-जहाँ भन्यो त्यहीँ धाएर भेटेँ। नराम्रो कुरा भइसक्यो, अब चिन्ता गरेर बस्ने होइन। एक दुईवटा पात खस्दैमा रुख पीर मानेर बस्दैन। अर्को टुसो आउँछ।’

एमाले महासागरजत्रो भएको र अन्य पार्टीले जति मोर्चाबन्दी गरेपनि एमाले नै ठूलो पार्टी हुने ओलीले बताए। ‘एक-एक दर्जनका १० वटा पार्टी मिल्यो भने १० दर्जन नै त हुन्छ। १० दर्जनको मोर्चा कसेर एमालेसँग लड्ने?’ उनले कटाक्ष गरे, ‘अरुले मोर्चाले कसुन्, नेकपा एमाले ढोडका लौरा समातेर जंघार तर्ने पार्टी होइन, यो पार्टीसँग पौडिएर तर्ने क्षमता छ।’

माधव नेपाललाई ‘कुलङ्गार नेता’ को संज्ञा दिँदै उनले भने, ‘महासागरजत्रो पार्टी छ, पौडी खेल्न पुगेन भनेर खाल्डो खन्छन्। कोही मान्छेलाई सानै भएपनि आफ्नो घरको राजा हुन मन लाग्छ।’