टिल्ल जाँड खायो, को हो तपाईं? भन्दा म एमालेको नेता हो भन्छ- केपी ओली - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

टिल्ल जाँड खायो, को हो तपाईं? भन्दा म एमालेको नेता हो भन्छ- केपी ओली



काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्तालाई आचरण र आनीबानीमा ख्याल गर्न निर्देशन दिएका छन्।

गृहजिल्ला झापामा शुक्रबार आयोजित मिसन ग्रासरुट अभियान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आचरण राम्रो नभए कसैले पनि विश्वास गर्न नसक्ने बताए।

‘तपाईं पण्डित होला, व्याख्या राम्रो गर्नुहोला, मीठो कुरा गर्नुहोला, एकछिनमा भट्टीमा पसेर निस्कँदा ट्रक हिँड्ने बाटोमा तपाईंलाई पुग्दैन भने मान्छेले के भन्छ?’ ओलीले भने, ‘एकछिन अघि साथी कति राम्रो कुरा गर्दै थियो, अहिले ट्रकभन्दा ठूलो भइसक्यो। त्यत्रो भारी बोकेको ट्रकको चक्का सोझै हुन्छ साथीको खुट्टा वल्लो छेउ पल्लो छेउ गर्छ।’

नेताको यस्तो परिस्थिती हुँदा अरू पछाडि लाग्न नसक्ने उनको भनाइ छ। ‘टिल्ल जाँड खाको छ, को हो तपाईं? भन्दा म एमालेको जिल्लाको नेता हो नपत्याए हेर्न कार्ड भन्छ, यसरी एमाले भइन्छ? ओलीले थपे।

उनले सिद्धान्तभन्दा पहिलो कुरा बोलीवचन, शिष्टता र व्यवहार भएकाले त्यसमा विशेष ख्याल गर्न नेता कार्यकर्तालाई आग्रह गरे।

सापटी लियो नतिर्ने, बोल्दा रफ बोल्ने, व्यवहार राम्रो नगर्ने अनि मान्छेले कसरी पत्याउने? ओलीको प्रश्न थियो।

बाहिर महिला अधिकारका कुरा गर्ने घरमा गएर श्रीमती कुट्ने र श्रीमतीले श्रीमानलाई बसि खान नदिने प्रवृत्ति नगर्न पनि ओलीले सचेत गराए।