ओलीप्रति सम्पाङको कडा टिप्पणी- ग्यास पाइप र पानीजहाजवाला हाउडे
काठमाडौं- एमालेका अध्यक्ष केपी शर्मा ओलीले धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङलाई जिताउनेहरू आँखा नदेख्ने भनेपछि सम्पाङले तत्कालै जवाफ फर्काएका छन् ।
उनले एमाले अध्यक्ष ओलीलाई ‘हाउडे’को संज्ञा दिएका छन् । धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले कोशीको पानी ल्याएर धरानवासीलाई खुवाउने बताएका थिए । उनले जिताउने बेला आँखा नदेख्ने भन्दै धराने जनतालाई आरोप लगाएपछि सम्पाङले तत्काल जवाफ फर्काएका हुन् ।
ओलीले भनेका थिए–‘यहाँका मेयरलाई खानेपानी ले, खानेपानी ले भनेर कतिवटा घैला बोकून विचरा ? कसको घरमा खानेपानी पुर्याउने ? कोशीबाट पम्पिङ गरेर पानी ल्याएर एमालेले धरानवासीलाई खुवाउँछ, तपाईंहरू ढुक्क हुनुहोस्, नगरको बजेटले त्यो आयोजना हुन्छ त ? हुँदैन । तर म केही भन्दिनँ, छान्ने बेला आँखा देख्नुभएन ।’
ओलीको उक्त अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै मेयर साम्पाङले ओलीलाई ‘हाउडे’ भन्दै चुनौति नदिन आग्रह गरे । ०७४ सालको निर्वाचनमा ओलीले गरेको प्रतिबद्धताप्रति व्यङ्ग गर्दै सामाजिक सञ्जालमा लेखेका छन्- ‘ग्यासको पाइप घर घरमा पुराएर पानी जहाजमा नेपालीलाई शयर गराउनेले कोशीको पानी ल्याउने गफ दिएछन् ! म ल्याउँछु पानी कोशीको ! धेरै चुनौती नदिँदा हुन्छ हाउडेले !’
गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा खानेपानीलाई नै मूल मुद्दा बनाएर मेयरका उम्मेदवार बनेका हर्कले जितेका थिए । उनले स्थानीय तह निर्वाचनको बेला धरानमा पानीको समस्या समाधान गर्ने बाचा गरेका थिए ।
मेयर निर्वाचित भएलगत्तै उक्त बाचा पूरा गर्न कस्सिएका साम्पाङले अन्ततः खर्दु र निशाने खोलाको पानी ल्याइसकेका छन् । आफ्नो कार्यकालमा कोशीको पानी ल्याएर धरानवासीलाई खुवाउने उनको प्रतिबद्धता रहेको छ ।