भारत भ्रमणबारे जानकारी दिन संसदलाई सम्बोधन गर्दै ओली - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

भारत भ्रमणबारे जानकारी दिन संसदलाई सम्बोधन गर्दै ओली



काठमाडौं – २३ चैतदेखि भारतको तीनदिने राजकीय भ्रमण गर्न लागेका प्रधानमन्त्री केपी ओलीले आज संघीय संसद्लाई सम्बोधन गर्दै छन् । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ ।

उनले आफ्नो भारत भ्रमणबारे संसद्लाई जानकारी गराउने भएका हुन् । संघीय संसद्अन्तर्गत दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा र अपराह्न ४ बजे बस्ने राष्ट्रिय सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै छन् ।

प्रधानमन्त्रीको सम्बोधनसँगै राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी अध्यादेश र चिकित्सा शिक्षा अध्यादेशसमेत स्विकृतिका लागि संसद्मा पेस हुँदै छ । सरकारले संसद्मा अन्य विधेयक दर्ता नगराएकाले प्रधानमन्त्रीको सम्बोधनलगत्तै आजै संघीय संसद्को पहिलो अधिवेशन अन्त्य हुने सम्भावना रहेको सचिवालय स्रोतले जनाएको छ ।

सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले संघीय संसद्को अधिवेशन आह्वान र अन्त्य गर्नेबारे राष्ट्रपतिको पत्र सरकारमार्फत संसद्मा आउनुपर्ने बताए । उनले भने, ‘संघीय संसद्को अधिवेशन अन्त्य गर्नेबारे राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त हुनुपर्छ ।

सो पत्र सरकारले संसद्मा ल्याएपछि मात्रै संसद्को अधिवेशन अन्त्य हुन्छ ।’ राष्ट्रपतिको पत्र प्राप्त भएकै दिन संसद्को अधिवेशन अन्त्य हुन सक्ने सचिवालयले जनाएको छ ।

कति बस्यो संघीय संसद्को बैठक ?

२० फागुनमा सांसदले शपथ लिएको भोलिपल्ट अर्थात् २१ गते संघीय संसद्को पहिलो बैठक बस्यो । त्यसयता, प्रतिनिधिसभाको बैठक १० पटक र राष्ट्रिय सभाको बैठक नौ पटक बस्यो । आजै संसद्को पहिलो अधिवेशन अन्त्य भए प्रतिनिधिसभाका ११ र राष्ट्रिय सभाका १० बैठक हुनेछन् ।