सरकार गठनका लागि एमाले माओवादीबीच संवाद सुरु
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङबीच भेटवार्ता भएको छ ।
मंगलबार आफूले ओलीलाई चुनावमा राम्रो नतिजा ल्याएकामा बधाई दिएको महासचिव गुरुङले बताएका छन् । तर यो भेटलाई लिएर राजनीतिक वृत्तमा हंगामा भएको छ ।
दुई नेताको भेटका अवसरमा समसामयिक विषयमा सामान्य कुराकानी भएको गुरुङको भनाइ छ । यो भेट सरकार गठनको विषयमा भएको अन्य नेताहरूले आँकलन गरेका छन् ।
‘सरकार गठनको वैधानिक प्रक्रिया सुरु भएको छैन । त्यसकारण यसबीचमा हुने भेटघाट बधाई दिनेमै केन्द्रित हुन्छन्’ उनले भने ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई भेटेरै बधाई दिन महासचिव गुरुङलाई पठाएका हुन् ।
यसअघि एमाले अध्यक्ष ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई फोन गरेर बधाई दिएका थिए ।