ओली र मोदीको डेढ घण्टा लामो वार्ता: के भयो कुरा ? - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

ओली र मोदीको डेढ घण्टा लामो वार्ता: के भयो कुरा ?



नयाँदिल्ली : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच डेढ घण्टा लामो भेटवार्ता भएको छ। शुक्रबार साँझ दिल्लीमा ओली र मोदीबीच साढे ६ बजेदेखि ८ बजेसम्म ‘वान टु वान’ वार्ता भएको हो।

पूर्व निर्धारित कार्यक्रम भन्दा अगाडि नै ओली र मोदीबीच दिल्लीको लोककल्याणकारी मार्गस्थित सरकारी निवासमा भेटवार्ता भएको हो। भेटवार्तामा नेपाल र भारतको सम्बन्धलाई थप समृद्ध बनाउने विषयमा विस्तृतमा छलफल भएको प्रधानमन्त्री ओलीले जानकारी दिए। मोदीसँगको भेटवार्तापछि पत्रकारसँग कुरा गर्दै ओलीले भने, ‘नेपाल र भारतको सम्बन्धलाई थप समृद्ध बनाउने विषयमा विस्तृतमा छलफल भएको छ।’

भारतसँगको असमझदारी हटेको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले असमझदारी यसअघि नै हटिसकेको बताएका छन्। ‘नेपाल र भारतबीच त्यस्तो असमझदारी केही पनि थिएन’, प्रधानमन्त्री ओलीले भने, ‘भएका असमझदारी यसअघि नै घटिसकेका छन्।’

ओली र मोदीको भेटवार्तामा जलविद्युतमा लगानी, रेलमार्ग निर्माणको विषयमा समेत कुराकानी भएको छ। दुई प्रधानमन्त्रीबीच भएको कुराकानीको विस्तृत विवरण भने आउँन बाँकी छ।