चुनाव जिते वृद्धभत्ता पाँच हजार पुर्‍याउने ओलीको प्रलोभन - Himal Post Himal Post
  • ६ माघ २०८२, सोमबार
  •      Mon Jan 19 2026
Logo

चुनाव जिते वृद्धभत्ता पाँच हजार पुर्‍याउने ओलीको प्रलोभन



प्रलोभन बाँडेको भन्दै माधव नेपालको उछितो काडेका एमाले अध्यक्ष केपी ओलीले निर्वाचनपछि वृद्धभत्ता पाँच हजार पुर्‍याउने आश्वासन दिएका छन् ।

झापाको दमकमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमाले नेतृत्वको सरकार बनेपछि वृद्धाभत्ता बढाएर पाँच हजार पुर्‍याउने आश्वासन दिएका हुन् ।

‘हामीले एक सयबाट सुरु गरेको वृद्धभत्ता चार हजार पुगेको छ । चुनावपछि एमाले सरकार बन्छ र त्यसले पाँच हजार पुर्‍याउँछ,’ उनले भने, ‘हामीले सबै क्षेत्रमा असाधारण काम गरेका छौँ, कर्मचारीको तनखा २५ प्रतिशत बढेको इतिहास सायद थिएन, तर हामीले बढायौँ ।’

ओलीले ४ मंसिरको चुनावपछि पनि राप्रपा र जसपालाई जोगाउने दायित्व एमालेको भएको समेत बताए ।

‘यो चुनावी तालमेल चुनावसम्मलाई मात्र होइन, चुनावभन्दा पछिसम्म हो । सरकार बनाउँदा पनि उहाँहरूलाई हामी साथै लिएर जान्छौँ,’ उनले भने, ‘किनभने उहाँहरूलाई एमालेको साथ किन लागिस् भनेर पनि हमला गर्न सक्छन् । त्यसबाट उहाँहरूलाई हामीले जोगाउनुपर्छ । हामीले उहाँहरूको साथ लिएका छौँ, साथ दिएका छौँ ।’

४ मंसिरको निर्वाचनपछि राप्रपा र जसपालाई साथै लिएर एमाले नेतृत्वमा सरकार बनाउने उनको भनाइ छ । उनले झापामा राप्रपाले एमालेलाई पूर्ण सहयोग गर्ने विश्वास व्यक्त गरे । ‘हामी प्रतिनिधिसभामा झापा ३, प्रदेश सभातर्फ क्षेत्र नम्बर १ (ख) र ४ (ख) मा राप्रपालाई सहयोग गर्छौँ,’ उनले भने, ‘अन्य ठाउँमा प्रत्यक्षमा राप्रपाले हामीलाई साथ दिन्छ । समानुपातिकमा आफ्नो–आफ्नो ठाउँमा भोट हाल्छ ।’