दुर्गा प्रसाईंमाथि सुन तस्करीको आरोप, ओलीलाई समेत समस्या - Himal Post Himal Post
  • ९ पुष २०८१, मंगलवार
  •      Tue Dec 24 2024
Logo

दुर्गा प्रसाईंमाथि सुन तस्करीको आरोप, ओलीलाई समेत समस्या



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्रियपात्र दुर्गा प्रसाईं थप विवादमा मुछिएका छन् । युएईका नक्कली राजकुमारको कारण अहिले उनी चर्चासँगै विवादमा तानिएका छन् । यसअघि पनि पटकपटक विवादको केन्द्रमा आउने प्रसाईंमाथि सुन तस्करीको आरोप समेत लाग्न थालेको छ ।

नक्कली व्यक्तिलाई युएईको राजकुमार भनेर प्रचार गर्न लगाएका प्रसाईं अहिले तिनै व्यक्तिलाई नेपालको पूर्वीभागमा भ्रमण गराउनमा ब्यस्त छन् । नक्कली राजकुमार भनिएका व्यक्ति नेपाल आएलगत्तै प्रसाईंलाई सुन जस्तै देखिने पहेँलो लौरो उपहार दिएका थिए । पहेँलो लौरोको चर्चा चुलिएका बेला राजकुमार पनि नक्कली भएको खुलेको थियो ।

राजकुमार नै नक्कली भएकाले ति व्यक्तिका सबै कार्यक्रममा सरकारले रोक लगाएको छ । यता विमानस्थल भन्सार कार्यालयले लौरोबारे अनुसन्धान सुरू गरेको छ । सर्वसाधारणले सामाजिक संजालमा विमानस्थल भन्सार कार्यालयको चर्को आलोचना गरिरहेका छन् । विदेशिएका नेपालीले एक तोला सुन ल्याउँदा पनि पक्राउ गर्ने भन्सार कार्यालय सुनकै लौरो आउँदा पनि बेखबर रहनु उदेकलाग्दो भएको भन्दै खिल्ली उडाईएको छ ।

यता हरेकपटक मिडियामा छाउनकै विभिन्न स्टन्ट गरिरहने प्रसाईंले राजकुमार भनेर राज्यलाई नै गुमराह गर्न खोजेको आरोप लागेको छ । केहिसमय अगाडी युएई गएका प्रसाईंले नक्कली राजकुमार खडा गरेर सुनको तस्करी गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले उछितो काडेका छन् । प्रसाईंले भने यसबारे आधिकारिक कुनै जानकारी गराएका छैनन् ।

झापाबाट निर्वाचन लड्ने तयारी गरेका प्रसाईंलाई थप धक्का लागेको छ । प्रसाईंको कारण अहिले एमाले अध्यक्ष ओलीको समेत आलोचना हुन थालेको छ । पार्टीकै नेताहरूले पनि यस्तालाई पक्षपोषण गर्दा पार्टीकै शाख घट्ने भन्दै अब यस्तालाई बोकेर नहिड्न सुझाव दिन थालेका छन् ।

ओलीले एमालेको केन्द्रीय सदस्यमा मनोनयन गरेका प्रसाईं मेडिकल माफियाको ट्याग भिरेका व्यक्ति हुन् । उनले स्थानीय निर्वाचन अगाडी दिएको एक अभिव्यक्तिका करण विवादित बनेका थिए ।