नेकपाका सबैभन्दा ठुला समस्या ओली र प्रचण्ड हुन् : गजुरेल - Himal Post Himal Post
  • २९ पुष २०८१, सोमबार
  •      Mon Jan 13 2025
Logo

नेकपाका सबैभन्दा ठुला समस्या ओली र प्रचण्ड हुन् : गजुरेल



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक जारी छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूले बोल्ने क्रम समेत जारी छ ।

पार्टी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि बोल्दै स्थायी कमिटी सदस्य हरिबोल गजुरेले पार्टीमा समस्या थुप्रिएको र यसको अपजसको भागिदार अध्यक्षद्वय नै हुनुपर्ने बताएका छन् ।

प्रचण्ड निकट मानिएका गजुरेलले सचिवालय र स्थायी कमिटी प्रत्येक सदस्यहरूलाई पार्टी, जनता र राष्ट्रको भन्दा आफ्नो पोजिसनको चिन्ता लागेकाले समस्या बल्झिरहेकोे टिप्पणी गरे ।

“स्थायी कमिटीका हरेक सदस्य पनि अध्यक्षद्वय जत्तिकै जिम्मेवार हुनुपर्छ । खाली सचिवालयमाथि दोष थोपरेर पानीमाथिको ओभानो हुन खोज्नु सुहाउने कुरा होइन । अन्तर्राष्ट्रिय मान्यता तोडेर स्थायी कमिटीको बैठक तीन–तीन महिनामा राख्ने निर्णयमा सहमत हुन पुग्नु र अझ अगाडि बढेर एक वर्षसम्म बैठक नबस्दा पनि सचिवालयको निर्णयलाई पर्खेर बस्ने हामी स्थायी कमिटीका सदस्यहरूले आफैंतिर फर्किएर प्रश्न गर्नुपर्ने हुन्छ ।

आफ्नो अधिकार प्रयोग गर्न नसक्नेले अर्काको अधिकारको सम्मान गर्न सक्दैनौं भन्ने कुरामा टेकेर केन्द्रीय कमिटीका सदस्यहरूले स्थायी कमिटीप्रति नै औंला ठड्याउन पाउँछन् कि पाउँदैनन् ?” उनले स्थायी कमिटीलाई पनि प्रश्न गरेका छन् ।

चालक अपग्रेड हुनुपर्‍यो
सरकार र पार्टी कामप्रति असन्तुष्ट रहँदै आएका गजुरेलले नेतृत्व अद्यावधिक हुन नसकेको बताएका छन् । स्थायी कमिटी बैठकमा लिखित धारणा, टिप्पणी राख्दै गजुरेलले नयाँ संविधानले जनतामा नयाँ आशा जगाए पनि पार्टी, संसद् सरकारले पुरानै तौरतरिकाले चल्न खोजेको भन्दै आलोचना गरेका छन् ।

“नयाँ संविधान लागु गर्ने पार्टी र नेताहरूले त्यसै अनुसार आफूलाई रूपान्तरण गर्नुपर्ने हुन्छ । गाडीमा नयाँ सिस्टम अपग्रेड भएपछि या त चालक नयाँ सिस्टम अनुकूलको नयाँ राख्नुपर्छ, या त पुरानो चालकले नयाँ सिस्टम सिक्नुपर्छ । ३० औं वर्षदेखि गाडी चलाइराखेको त हो नि भनेर बलजफ्ती नयाँ सिस्टमको गाडी पुरानै तरिकाले चलाउन थालियो भने सिस्टम बिग्रन्छ र दुर्घटना पनि हुन जान्छ । अहिलेको तीतो यथार्थ यही नै हो । यो कुरा सबै तहको नेतृत्व र पार्टी पंक्तिको हकमा पनि लागु हुन्छ ।”

उनले पार्टीलाई जीवन्त र गतिशील बनाउन आजको नीति, विधिमात्रै पर्याप्त नहुने भन्दै परिमार्जन गर्न पनि सुझाएका छन् ।

पार्टीमा नोकरशाही प्रवृत्ति
नेता गजुरेलले पार्टीमा अराजकता, गुटबन्दी, उदारता र नोकरशाही प्रवृत्ति हाबी भएको औंल्याएका छन् । यही प्रवृत्तिका कारण पार्टी सर्वहारा वर्गको अग्रदस्ता बन्न नसकेको बताएका छन् ।
उनले पार्टी सञ्चालनमा जनवाद र केन्द्रीयता बीच सन्तुलन कायम गर्न नसक्दा अराजकता मौलाउन पुगेको निष्कर्ष निकालेका छन् ।

साविक पार्टीमध्ये एमालेका जनवाद हावी र माओवादी केन्द्रमा केन्द्रीयता हाबी भएको तथ्य स्मरण गराउँदै दुवैको सकारात्मक अभ्यासलाई अवलम्बन गर्न पनि अनुरोध गरेका छन् ।

उनले आन्तरिक निर्वाचनको पनि विधि तय गर्न माग गरेका छन् । वर्तमान पार्टी संगठनको निर्माण गर्दा नेताहरूको तजबिजमा वा तलबाट निर्वाचित हुने प्रचलन रहेको भन्दै दुवै विधिले जनवादी केन्द्रीयताको मर्म आत्मसात गर्न नसकेको बताएका छन् ।

नेता हरिबोल गजुरेलले संगठनात्मक क्षेत्रमा सुधार गर्नका लागि ५० प्रतिशत नम्बर कमिटीको मूल्याङकनबाट दिइने र ५० प्रतिशत नम्बर सदस्यहरूको लोकप्रिय मतका आधार दिई नेतृत्व छनोट र चयन गर्ने थिति बसाल्न माग गरेका छन् ।