ओली, प्रचण्ड र नेपालबीच वार्ता, अब के हुन्छ ?
काठमाडौँ – १९ जेठ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पार्टी एकताको विषयमा निर्णायक छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालको पनि सहभागिता थियो ।
स्रोतअनुसार प्रचण्डसँग छलफल गर्नुपूर्व ओलीले नेता नेपालसँग छलफल गरेका थिए । त्यसपछि प्रचण्डसहितको छलफलमा ओली जुटेका थिए । करिब तीन घण्टा भएको छलफलमा पार्टी एकतालाई तत्काल टुङ्गो लगाउने समझदारी भएको छ।
शीर्ष नेताहरूबीचको विवादका कारण सचिवालय बैठक केही दिन ढिला सारिएको थियो । सचिवालय बैठक अब भोलि विहान बस्ने बुझिएको छ । नेता त्रयबीचको छलफलबारे जानकारी दिँदै एक नेताले भने,‘आजको बालुवाटारमा भएको छलफलमा उहाँहरूबीच समग्रमा कसरी जाने भन्ने विषयमा छलफल भएको छ । उहाँहरू सहमति पालना गर्दै मिलेर जाने कुरा भएको छ।’
अध्यक्ष प्रचण्डले आफू र ओलीले सरकारको नेतृत्व आलोपालो चलाउने भनेर अभिव्यक्ति दिएपछि उत्पन्न राजनीतिक तरङ्गलाई मध्यनजर गर्दै ओलीले आजको छलफल डाकेको बुझिएको छ । एक टेलिभिजनमा दिएको विशेष अन्तर्वार्तामा प्रचण्डले आफू र ओलीबीच सरकारको नेतृत्व पनि आलोपालो चलाउने सहमति भएको खुलासा गरेका थिए ।