ओली-प्रचण्डबीच बोलचाल बन्द - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

ओली-प्रचण्डबीच बोलचाल बन्द



काठमाडौं- सभामुखको उम्मेदवार चयन गर्न नसकेर प्रतिनिधिसभा नै बन्धक बनिरहेका बेला सत्तारुढ नेकपाका दुई अध्यक्षबीच गत आइतबारदेखि औपचारिक संवाद भएको छैन।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आ आफ्नो पक्षधर नेताहरुसँग अनौपचारिक संवाद भने गरिरहेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार पनि ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहितका नेताहरुसँग सभामुख चयनका विषयमा कुराकानी गरे।

दाहाल निवासमा पनि पूर्व माओवादी समूहका नेताहरुबीच छलफल भएको छ। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

महासचिव पौडेलले दुबै अध्यक्षलाई दिनहुँ भेट्ने गरेका छन्। अनौपचारिक सन्देश पुर्याइरहेका छन्।

‘यो विषय दुई अध्यक्षले टुंग्याउने खालको छ। उहाँहरुले टुंग्याउनुहुन्छ भन्नेमा म विश्वस्त छु,’ महासचिव पौडेलले भने।

उनले दुई अध्यक्षबीचको अहिलेको मनस्थिति कुन तहको हो भन्ने कुरा भने खुलाउन चाहेनन्।

दुबै अध्यक्षलाई सभामुखमा साझा प्रस्ताव ल्याउन नेताहरुले दबाब दिइरहेका छन्।