केपी ओली दिमागमा गोबर भरिएको मान्छे हो: प्रचण्ड - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

केपी ओली दिमागमा गोबर भरिएको मान्छे हो: प्रचण्ड



काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी ओलीलाई दिमागमा गोबर भरिएको मान्छे भनेका छन् ।

उनले ओलीलाई विदेशीसँग लम्पसार पर्ने, सामन्ती, अतिवादी दिन्दू, भएको आरोप समेत लगाएका छन्। काभ्रेको पाँचखालमा पार्टीको भातृ संगठन योङ कम्युनिष्ट लिग, (वाईसीएल) को दोस्रो पाँचखाल नगरसभालाई बिहीबार सम्बोधन गर्दै ओलीप्रति तीव्र असन्तुष्टि जनाएका हुन्।

‘केपी प्रवृत्ति सामान्ती हिन्दु अतिवादी हो’, प्रचण्डले आरोप लगाउँदै भने, ‘पशुपतिमा जलहरी चढाउँदै हिँडे। मेरो निर्वाचन क्षेत्रमा राम, सीता, हनुमान राख्दै हिँडे। रामसीताको विषयमा म लड्न जानु त भएन नि।’

ओली विदेशीसँग लम्पसार परेको भन्दै प्रचण्डले ओलीलाई भगौडा भएको समेत आरोप लगाए। ‘केपी भगौडा हो, कम्युनिष्ट आन्दोलन, मार्क्सवादबाट भागे,’ उनले भने, ‘बालुवाटारबाट निकाल्यौँ तर तामझामसहित उनी बालकोटको बार्दलीमा पुगेर कराए।’

नेकपा एकता भंग भए पनि आफूहरुले केपी प्रवृत्तिमाथि विजय पाएको उनले बताए। ‘केपी जस्तो अंहकारी र निरकुंशलाई हटायौं’, उनले भने, ‘केपी ओली गिदीभित्र गोबर भरिएको मान्छे हो।’