ओली-प्रचण्ड वार्ताको तयारी, 'सरप्राइज' हुने सम्भावना - Himal Post Himal Post
  • २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
Logo

ओली-प्रचण्ड वार्ताको तयारी, ‘सरप्राइज’ हुने सम्भावना



निर्वाचन आयोगले निर्वाचनको अन्तिम प्रतिवेदन घोषणा राष्ट्रपतिलाई बुझाउने तयारी गरिरहँदा सरकार बनाउने धेरै विकल्पबारे छलफल थालिएको छ । नयाँ सरकार गठनबारे विभिन्न दलबीच औपचारिक–अनौपचारिक संवाद भैरहेका छन्। सरकारमा नजाने बताएको एमालेले पनि सरकार निर्माणको अभ्यास थालेको छ ।

वर्तमान सत्ता गठबन्धनका चार दलमा लगातार छलफल भएपनि एमालेले भने औपचारिक रूपमा सरकार गठनको कुरा उठाएको थिएन । नयाँ सरकार बनाउने बहुमत नपाएपछि विपक्षी खेमामा रहेको एमालेले पनि छलफल थालेको हो।अनौठो त के छ भने, सुरुवाती छलफलकै क्रममा एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गरेको छ ।

सत्ता गठबन्धन छाडेर आए सरकार गठनका लागि सबै विकल्प खुला राख्ने सन्देश एमाले अध्यक्ष केपी शर्मा ओलीले खुमलटार पताएका छन्। माओवादी केन्द्रका नेताहरूसँग अनौपचारिक कुराकानी गर्दै आएका एमालेका एक पदाधिकारीका अनुसार विभिन्न चरणमा माओवादीसँग छलफल भैरहेको छ ।

माओवादी केन्द्रले एमालेलाई देखाएर कांग्रेससँग आधाआधा कार्यकाल बाँडेर सुरुमा प्रधानमन्त्री लिन खोजेको छ। एमालेका नेताहरूसँगको भेटघाटलाई देखाएर माओवादी केन्द्रले कांग्रेससँग बार्गेनिङ पावर बढाइरहेको देखिन्छ। पछिल्लोपटक गैरवामपन्थीको मिलेमतोमा सरकार बन्ने सम्भावना देखिएपछि माओवादी केन्द्र एमालेतिर आकर्षित भएको आकलन सो दलका नेताहरूको छ।

विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेलगायतका एमाले नेताहरू लगातार प्रचण्ड निवासमै पुगेर छलफल गरिरहेका छन् । यता सत्ता गठबन्धनमा पनि प्रचण्डले लगातार बार्गेनिङ गरिरहेकै छन् ।

हालै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका महासचिव देव गुरुङबीच मंगलबार भेट भयो। सो भेटलाई लिएर एमाले माओवादी सरकार बनाउने छलफलमा सहभागी भैरहेको धरैले बताउने गरका छन्। भेटलाई संयोग र आकस्मिक मान्नुपर्ने कुनै कारण नभएको एमाले नेता बताउँछन्। एमाले सचिव रघुवीर महासेठ झन् कस्सिएर माओवादी मिलाउन लागि परेका छन् । माओवादी केन्द्रका महासचिव गुरुङले एमाले अध्यक्ष ओलीसँग भेटघाट गर्नुको कारण पनि त्यहि हो ।

निर्वाचन क्षेत्र धनुषाबाट फर्किएलगत्तै महासेठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालसँग पनि भेट गरेका थिए। केही दिनदेखि महासेठले होटल हिमालयनमा माओवादी केन्द्रका नेताहरूसँग भेटघाट गर्दै आएका छन्। उनले ओलीकै इसारामा भेटघाट गरिरहेको स्रोतको दाबी छ।

महासेठले ओलीका तर्फबाट सरकार गठनबारे सबै विकल्पमा छलफल गर्न एमाले तयार रहेको सन्देश माओवादी केन्द्रका अध्यक्ष दाहालसमक्ष पठाएका छन्। उनले आधाआधा कार्यकालमा सुरुमा सरकारको नेतृत्व गर्न दाहाललाई दिन सकिने गरी छलफलका लागि एमाले तयार रहेको सन्देश दिएको स्रोतको दाबी छ। तर एमालेका कतिपय नेताले भने माओवादी केन्द्रलाई प्रधानमन्त्री नै दिनेगरी संवाद अघि बढिनसकेको बताएका छन्।

माओवादी केन्द्रका महासचिव गुरुङले मंगलबार राति बालकोट पुगेर एमाले अध्यक्ष ओलीलाई भेटेपछि दाहालले बुधबार कास्की पुगेर एकपटक देशको नेतृत्व गर्न मन लागेको अभिव्यक्ति दिएका छन्। स्रोतका अनुसार कांग्रेसले गैरवामपन्थी सरकार गठन गर्ने प्रयास गरेसँगै महासचिव गुरुङले एमाले अध्यक्ष ओलीसँग भेटघाट गरेर सहकार्य गर्न सक्ने छनक दिएका छन्। ‘एमाले अध्यक्ष ओली प्रतिनिधिसभामा निर्वाचित हुनुभएकोमा बधाई दिन बालकोट गएको हुँ। अलि बढी नै हल्ला भएछ। हल्ला भएजस्तो केही पनि कुराकानी भएको छैन,’ गुरुङले भने।

नेकपा विघटनपछि एमाले र माओवादी केन्द्रका नेताहरूबीच औपचारिक भेटघाट भएको छैन। एमाले अध्यक्ष ओलीले निर्वाचन परिणाम आएपछि दाहाललाई फोन गरेर बधाई दिएका थिए। यसपछि माओवादी नेताहरू एमालेका नेताहरूसँग अनौपचारिक संवादमा छन्। तर यसको सार्वजनिक रूपमा जानकारी दिइएको छैन। एमालेभित्र उपाध्यक्षहरू विष्णु पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङलगायत र माओवादी केन्द्रभित्र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव गुरुङ लगायत वाम गठबन्धनको पक्षमा छन्।

संसद्मा गैरवामपन्थीको समेत बहुमत पुग्ने अवस्था रहेकाले कांग्रेस नेतृत्वको सरकारले अध्यादेश ल्याएर सिके राउत र रेशम चौधरीको साथ खोजेकै कारण वामपन्थीहरू आपसमा नजिक हुन थालेका छन्।

एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका महासचिव गुरुङबीचको भेटले राजनीति तरंगित भएपछि बुधबार बिहान माओवादी अध्यक्ष दाहालले नेकपा एसका अध्यक्ष नेपालसँग भेट गरेका छन्। प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचनमा नेकपा एसले ‘थ्रेसहोल्ड’ नकटाएपछि माओवादीसँग एकता गर्ने चर्चा चलिरहेको छ।

स्रोतका अनुसार एमाले र माओवादी केन्द्रका केही नेता एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहाललाई भेट गराउने कोसिसमा छन्। १-२ दिन भित्रै ओली र प्रचण्डको भेट गराउने कसरतमा एमाले माओवादीका नेताहरू लागिरहेका छन् । छिट्टै वार्ता भएको खण्डमा आश्चर्य मान्नु नपर्ने एमालेका एक नेता बताउँछन् ।