प्रचण्डले दिए केपी ओलीलाई धन्यवाद - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

प्रचण्डले दिए केपी ओलीलाई धन्यवाद



काठमाडौं- सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन्।

कुनै बेलाका सहयात्री ओलीलाई सम्झिँदै उनले माओवादीलाई क्रान्तिकारी बनाइदिएकोमा प्रशंसा गरेका हुन्।

‘हाम्रो पार्टी त्यस्तो हो, जसको क्रान्तिकारी रुपान्तरणको सम्भावना बाँकी छ, अन्य पार्टीबाट त्यो सम्भावना छैन,’ बागमती प्रदेशबाट पदाधिकारी, केन्द्रीय सदस्यहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘चुनावदेखि चुनावबाट मात्र यो पार्टी क्रान्तिकारी रहिरहँदैन। यस मानेमा केपी ओलीलाई धन्यवाद! किनकी उनले दुई चोटी संसद विघटन गरेर हामीभित्रको क्रान्तिकारीपन जगाउन योगदान गरे।’

अध्यक्ष प्रचण्डले २०७४ को स्थानीय तह चुनावमा बागमती प्रदेशबाट जितेको ५० सिट यसपटकको स्थानीय चुनाव (३० वैशाख २०७९) गुमाएर पहिलो वामपन्थी बन्न नसकेको बताए।

‘बागमती प्रदेशमै देशकै पहिलो वामपन्थी पार्टीका रुपमा स्थापित गर्न सक्थ्यौँ। तर, गत चुनावमा जितेको ५० पालिका यस पटक जित्न सकेनौँ,’ प्रचण्डले भने।

उनले माओवादीभित्रको कुण्ठा र अन्तरविरोध हल गर्न सके पहिलो कम्युनिष्ट पार्टी हुने ठोकुवा गरे।

‘हामी भित्रको अन्तरविरोध र कुण्ठा हल गर्न सक्दा अहिले पनि देशकै पहिलो कम्युनिष्ट पार्टी बनाउन सक्छौँ,’ नेताहरुसँग प्रचण्डले भने।