प्रचण्ड सुकुटे गएका बेला ओली–नेपाल बीच गोप्य वार्ता - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रचण्ड सुकुटे गएका बेला ओली–नेपाल बीच गोप्य वार्ता



काठमाडौँ। प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । अर्का अध्यक्ष आरामका लागि भन्दै सिन्धुपाल्चोकको सुकुटे गएकै बेला ओली–नेपाल वार्ता भएको हो ।

आउने ९ गते पार्टीको एकता टुङ्ग्याउने गरि बालुवाटारमा दुई नेताबीच बिहीबार बेलुका र शुक्रबार बिहान सघन छलफल भएको हो । एकता टुङ्गिन नसक्नुमा पूर्व एमालेभित्रका दुई गुटबीचको अन्तरद्वन्द्व मुख्य कारण भएकाले ९ बैशाख अगावै विवाद मिलाउन ओली र नेपालले यो हप्ता एकता वार्तालाई सघन बनाएका हुन् ।

यसअघि ओलीले नेकपामा रहेका पूर्व एमालेका बरिष्ठ नेताहरु झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल लगायतसँग पनि यस्तै कुराकानी गरेका थिए । ७७ मध्ये पूर्व एमालेको भागमा परेको ४५ जिल्लाको नेतृत्व टुङ्ग्याउन ओलीले नेताहरुसँग छलफल गरेका थिए ।

नेकपाका ७७ वटा जिल्ला कमिटीमध्ये पूर्व एमालेको भागमा ४५ र पूर्व माओवादी केन्द्रको भागमा ३२ जिल्ला कमिटीको नेतृत्व (अध्यक्ष) छुट्ट्याइएको छ । अध्यक्ष नपाउने पक्षले सचिवको जिम्मेवारी पाउनेछ ।

एमाले र माओवादी केन्द्रबीच एकता भई नेकपा बनेको पनि एक बर्ष पुग्न लागिसकेको छ । तर, नेताहरुले अहिलेसम्म एकतालाई पूर्णता दिन सकेका छैनन् । दुई पार्टीका विभाग, जनवर्गीय संगठन, आयोगहरुको एकताले पूर्णता पाउन सकेको छैन ।