प्रधानमन्त्री ओली र नेपालबीच विवाद - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

प्रधानमन्त्री ओली र नेपालबीच विवाद



काठमाडौं । पद बाँडफाँटको विषयलाई लिएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद बढेको छ । जिल्ला इन्चार्ज र सह–इन्चार्जको छनोट प्रक्रिया, विधि र कार्यविभाजन मापदण्डमा समेत सहमति हुन सकेको छैन ।

एकताको लामो समयपछि चयन गर्न बनाएको मापदण्डमा ४३ जना नेताले दोहोरो जिम्मेवारी पाएसंगै नेकपाभित्र एक व्यक्ति एक पदको नीतिमा विवाद बढेको हो । मन्त्री, सांसद लगायत कार्यकारी भूमिका भएका व्यक्तिलाई जिम्मेवारी दिने वा नदिने भन्ने विषयमा प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच विवाद छ ।

यसै कारण नेकपामा जिल्ला इन्जार्ज र सहइन्चार्ज तोक्ने प्रक्रिया लम्बिएको छ । ओली दोहोरो जिम्मेवारी पनि दिनुपर्ने अडानमा हुनुहुन्छ । नेता नेपाल भने यसअघि नै भूमिका पाएकालाई थप जिम्मेवारी दिन नहुने पक्षमा उभिनुभएको छ ।

तर, नेकपा नेताहरु तत्कालिन एमाले भित्रनै एक व्यक्ति एक पदको वहसले पार्टीको एकाता प्रकृयालाई नै पर धकेल्दै गएको बताउँछन् । नेकपा नेताहरु पार्टीको कार्यदिशामै विवाद भएका कारण समस्या भएको स्वीकार गर्छन् ।

जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्ने प्रस्तावमा नै विवाद देखिदा ३२ केन्द्रीय विभागको जिम्मेवारी बाँडफाँड पनि पर सर्दै गएको छ । महत्वपूर्ण मानिने संगठन विभागमा रामबहादुर थापा, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, महासचिव विष्णुप्रसाद पौडेल आकांक्षी देखिएपछि बाँकी विभागबारे थप छलफल नै भएको छैन ।

विदेश विभाग, स्कुल विभाग, प्रचार तथा प्रकाशन विभाग, राजकीय मामिला विभाग, अर्थ विभागजस्ता महत्वपूर्ण विभाग प्रमुख सचिवालयकै नेतामध्येबाट तोक्ने प्रारम्भिक गृहकार्य भए पनि संगठन विभागमै कुरा नमिल्दा केन्द्रीय विभाग गठन झन् लम्बिने संकेत देखिएको छ ।