केपी ओलीले माधव नेपालका लागि 'फर्माइस' गरेको १९७४ को हिन्दी फिल्मको त्यो गीत - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

केपी ओलीले माधव नेपालका लागि ‘फर्माइस’ गरेको १९७४ को हिन्दी फिल्मको त्यो गीत



काठमाडौं प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालकोलागि एउटा हिन्दी फिल्मको गीत फर्माइस गरेका छन् ।

अध्यक्ष ओलीले माधव नेपालको कुनै गन्तव्य नभएको जिकिर गर्दै हिन्दी फिल्मको गीत सुनाएर कटाक्ष गरे। एमालेको उपत्यका विशेष प्रदेश कमिटीको रणनीतिक कार्यशालालाई सम्बोधन गर्दै उनले माधव नेपालका लागि यस्तो गीत फर्माइस गरेका हुन् ।

एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई कटाक्ष गर्दै ओलीले सन् १९७४ को हिन्दी फिल्म आपकी कसमको गीत जस्तै जिन्दगी भएको बताएका थिए । ओलीले भनेका थिए, “माधव नेपालको जिन्दगी त छटपटीमै बित्छ। राति पनि उही करबटें बदलते रहे सारी रात हम, तुम्हारी कसम।”

ओलीसँग बस्न नसकिने भन्दै माधव नेपालले एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गरेपछि ओली उनीमाथि खनिंदै आएका छन् ।माधव नेपालको कुनै गन्तव्य नभएकाले भविष्य नभएको ओलीको भनाइ थियो।

उनले भने, “माधव नेपालको छटपटी मात्रै छ, गन्तव्य-सन्तव्य केही छैन।” अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनमा रहेका अन्य दलका नेताको पनि कुनै गन्तव्य नभएको जिकिर गरे।

“मोहनविक्रम सिंहको गन्तव्य के हो भन्दा प्यूठान,” ओलीले भने, “शेरबहादुरको गन्तव्य के हो भन्दा म्याडम साहेबा। प्रचण्डको गन्तव्य के हो भन्दा सुपुत्री।”

व्यक्तिगत स्वार्थका लागि हिंडेकाले गठबन्धनले देशका लागि केही नगर्ने उनको भनाइ थियो। “यस्ता यस्ता गन्तव्य लिएर हिंडेका छन्। त्यसका लागि जे पनि गर्छन्,” ओलीले भने, “यो सरकारको पनि गन्तव्य छैन।”

कार्यकर्तालाई चुनावी तयारीमा जुट्न निर्देशन दिंदै ओलीले भने, “अहिलेको निर्वाचन हामीले हार्न मिल्दैन । हार्नु हुँदैन, हारे पनि एमालेका लागि केही छैन, प्रतिपक्षमा बसेर जनताको आवाज उठाउँछ। तर, एमालेले हार्दा देश हार्छ, देशलाई हार्न दिनु हुँदैन।”