एमाले बैठकमा फरक मत- ओलीभन्दा नेम्वाङलाई प्रधानमन्त्री बनाउँदा पार्टीलाई बढी फाइदा - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

एमाले बैठकमा फरक मत- ओलीभन्दा नेम्वाङलाई प्रधानमन्त्री बनाउँदा पार्टीलाई बढी फाइदा



काठमाडौं- भर्खरै सकिएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा व्यापक रूपमा फरक मत उठेको पाइएको छ । बैठकमा नेताहरूले केपी ओलीकै नेतृत्वमा चुनावमा जानु आत्मघाति हुने भन्दै फरक मत प्रस्ताव गरेका थिए ।

यता केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडी सरेर चुनावमा जाने निर्णय गरिसकेको भएपनि पार्टीका बैठकहरूमा यसको चर्को विरोध भएको नेताहरूले बताएका छन् ।

नेताहरूले मंसिर ४ को चुनावमा जनताले नयाँ परिवर्तन खोजेको भन्दै पार्टीला पनि पुराना नेताभन्दा नयाँ अनुहारलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्न आग्रह गरेका थिए । जनतासँग बहुमत माग्ने हो भने नयाँ नेतृत्व देखाउनुपर्ने सुझाव आएपनि यसमा बहुमत भने पुगेन ।

सबैभन्दा पहिले एमाले नेता घनश्याम भुसालले फरक प्रस्ताव गर्दै जनताले ‘नयाँ नेतृत्व खोजेको’ भन्दै ओलीलाई प्रधानमन्त्रीको रूपमा अगाडी सार्न नहुने बताएका थिए । नेता भुसालले केन्द्रीय कमिटीको बैठकपूर्व पनि यो विषय उठान गरेको बताइएको छ । गत विहीबार ललितपुरको च्यासलमा बसेको एमाले स्थायी कमिटीको बैठकमा भुसालले केपी ओलीको नेतृत्वमा चुनावमा जानु आत्मघाति हुने सुझाव दिएका थिए । यहि विषयले केन्द्रीय कमिटीमा पनि चर्चा पाएको बताइएको छ ।

ओलीलाई नै अगाडी सर्दा सफलता नपाइने भन्दै नेताहरूले नयाँ नेतृत्व अघि सार्नुपर्ने बताएका थिए । नेता भुसालले ओलीलाई अगाडी सार्नुभन्दा पूर्वसभामुख नेम्वाङलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्दा पार्टीलाई बढी मत आउने प्रस्ताव गरेका थिए ।

संसद विघटन, अध्यादेश प्रकरण, नेकपा विभाजनलगायतका कारण ओलीलाई जनताले पत्याउने अवस्था नभएको नेताहरूले बताएका थिए । संसद विघटन असफल भएपछि केपी ओलीको ठाउँमा नेम्वाङलाई प्रधानमन्त्री बनाएको भए नेकपा एमाले नफुट्ने समेत नेता भुसालले बताएका थिए । भुसाल लगायतका केहि नेताहरूले अहिले पनि नेम्वाङलाई प्रधानमन्त्रीको रूपमा अगाडी सार्दा पार्टीलाई बढी फाइदा हुने प्रस्ताव गरेका थिए ।

नेता भुसालले जनताको विश्वास जित्नका लागि केपी ओलीले त्याग गर्नुपर्ने समेत बताएका छन् । विहीबार स्थायी कमिटी बैठकमा उनले प्रस्तुत गरेको लिखित प्रस्तावमा पनि नयाँ नेतृत्वका साथ चुनावमा जानुपर्ने उल्लेख छ ।

‘यो असाधारण चुनौतिले घेरिएको तर ऐतिहासिक अवसर बाँकी नै रहेको अवस्था हो । यस अवस्थामा पनि इतिहासमा हामीले गरेका कमजोरीको जिम्मेवारीबाट उम्किने प्रयास गर्यौं भने आन्दोलन र पार्टीमाथि घोर बेइमानी हुनेछ । जनताले समग्र राजनीतिमै नयाँ सङ्कल्प र नेतृत्व खोजेका छन्। त्यसलाई नजरअन्दाज गर्ने जोसुकैले ठूलो मूल्य चुकाउनु पर्नेछ ।’ भुसालले स्थायी कमिटीमा पेश गरेको प्रस्तावमा भनिएको छ ।’