'ओलीसँग पदमा बस्ने नैतिकता छैन र तत्काल पदबाट हट्नुपर्छ' - Himal Post Himal Post
  • १९ मंसिर २०८१, बुधबार
  •      Wed Dec 4 2024
Logo

‘ओलीसँग पदमा बस्ने नैतिकता छैन र तत्काल पदबाट हट्नुपर्छ’



काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमा बस्ने नैतिकता नभएको र तत्काल पदबाट हट्नुपर्ने बताएको छ । बिहीबार विज्ञप्ति एक जारी गर्दै संघले यस्तो बताएको हो ।

संघले सर्वोच्च अदालतको पछिल्लो अन्तरिम आदेश स्वागतयोग्य रहेको समेत जनाएको छ । सर्वोच्चको पछिल्लो आदेशानुसार अब प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमा बस्ने नैतिकता नभएको र तत्काल पदबाट हट्नुपर्ने अवस्था सिर्जना भएको नेविसंघको ठहर छ ।

संघका महामन्त्री बलदेव तिमल्सिनाले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीले अब तुरुन्त प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिएर राजीनामा दिँदै अर्को सरकार बनाउने बाटो खुला गर्नुपर्ने उल्लेख गरेका छन् ।

“सरकारले गरेका प्रायः सबै निर्णय एकपछि अर्को गरी अदालतले रोक लगाउनुपर्ने अवस्थामा प्रधानमन्त्रीले सरकार चलाउने नैतिकता गुमाइसकेका छन् । संविधान र कानुनमा टेकेर काम गर्न नसक्दा यस्तो अवस्था आएको हुँदा संविधानको रक्षाका लागि पनि ओली पदमुक्त हुनुपर्दछ,” उनले भनेका छन् ।

विश्वासको मत गुमाएको प्रधानमन्त्रीले पूर्ण बजेट ल्याउने, अध्यादेशमार्फत शासन सञ्चालन गर्ने शैली विश्वका कुनै पनि लोकतान्त्रिक मुलुकमा नभएको जनाइएको छ । प्रधानमन्त्री र सरकारलाई सर्वोच्च अदालतले संविधान र कानुन सम्झाएको तिमल्सिनाको भनाइ छ ।