ओलीमाथि इश्वर पोखरेलको शब्द आक्रमण ! - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

ओलीमाथि इश्वर पोखरेलको शब्द आक्रमण !



रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार साँझ ट्विटरबाट एउटा अभिव्यक्ति सार्वजनिक गरे । उनले भने, ‘सयवटा उत्कृष्ट लाग्ने राम्रा कुरा बोलेरभन्दा एउटा सरदर राम्रो काम गर्दै अघि बढ्नुपर्ने अहिलेको आवश्यकता हो ।’

 

‘उत्कृष्ट’ राम्रा गफलाई कोष्ठभित्र राखेर त्यो पनि उत्कृष्ट नरहेको अर्थ उनले दिन चाहेका थिए । सोमबार रातिसम्म रक्षामन्त्रीको ट्विटमाथि एक दर्जभन्दा बढी रिप्लाई आएको छ । रमेश भण्डारीले सुरुवात आफैँबाट गर्नुपर्ने सुझाव दिएका छन् ।

रक्षामन्त्रीको यो अभिव्यक्ति प्रधानमन्त्री केपी शर्मा ओली लक्षित रहेको कतिपयको बुझाई छ । एकजना ट्विटर प्रयोगकर्ता किरनले हाकाहाकी रिप्लाई दिँदै भनेका छन्, ‘आफ्नै नेताप्रति लक्षित तथा राम्रो ।’

प्रधानमन्त्री ओली भारतको तीन दिने भ्रमणमा जाँदा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका बरिष्ठमन्त्री पोखरेल प्रधानमन्त्री ओलीलाई प्रहार गर्नुपर्ने अवस्था किन आइपुग्यो त ? यसका केही कारण छन् ।

एमाले महासचिवसमेत रहेका राक्षामन्त्री ईश्वर पोखरेल पार्टीभित्र ओली गुटभित्रकै नेता हुन् । ओली नेतृत्वमा सरकार बन्ने स्थितिमा उनले उपप्रधानसहित अर्थ मन्त्रालयको आकांक्षा देखाएका थिए ।

अन्तिम समयसम्म पनि पोखरेल र प्रदीप ज्ञवालीमध्ये एक जना अर्थमन्त्री हुँदैछन् भन्ने चर्चा थियो । पार्टीभित्र ओलीको उत्ताराधिकारीको रुपमा प्रस्तुत गर्दै आएका उनले अर्थमा गएर भविष्यका लागि लाइन मिलाउने र शक्ति सञ्चय गर्ने योजना बनाउनु अस्वभाविक थिएन ।

तर पार्टी अध्यक्ष ओलीले उनलाई प्रदेश सरकार हेर्नेगरी बिना विभागीय मन्त्रीको प्रस्ताव गरेपछि उनी छाँगाबाट खसे झैँ भए । त्यसपछि उनी शक्ति अभ्यासका हिसाबले झिनो ठानिने रक्षामन्त्रीमा चित्त बुझाउन विवश भएका थिए । पछिल्लो समय पोखरेलको राजनीतिक ‘करिअर’ नै ‘कर्नरमा परेको चर्चा हुने गरेको छ ।

उता पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली निकटहरुका आफ्नै भनाइ छन् । ‘उहाँ अध्यक्षको स्पिरिडमा हिँड्न सक्नु भएन । बोकेको कुकुरले मृग मार्दैन । यो पटक सरकार आर्थिक समृद्धिको दिशामा उन्मुख हुँदै केही गर्नुपर्ने दवाबमा छ । रक्षा उहाँलाइ उपयुक्त मन्त्रालय हो ।’

रक्षामन्त्री पोखरेलले सोमबार साँझ गरेको ट्विट कतिपयले यो पृष्ठभूमिमा अर्थ लगाएका हुन् ।