ओलीले गरे मध्यावधि चुनावको संकेत - Himal Post Himal Post
  • १४ पुष २०८१, आईतवार
  •      Sun Dec 29 2024
Logo

ओलीले गरे मध्यावधि चुनावको संकेत



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुक मध्यावधिमा जानसक्ने सम्भावना भएको बताएका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फेरि प्रधानमन्त्री हुने चाहना पूरा नहुने पनि दाबी गरेका छन् ।

फेरि प्रधानमन्त्री हुनका लागि प्रचण्डले प्रयास गरिरहेका बेला एमाले अध्यक्ष ओलीको यस्तो प्रतिक्रिया आएको हो । ओलीले मुलुक मध्यावधि चुनावतिर जान सक्ने पनि बताए ।

एमाले प्युठान–काठमाडौं सम्पर्क मञ्चले शनिबार गरेको कार्यक्रममा अध्यक्ष ओलीले समयमा कदम नचालेकाले प्रचण्डको प्रधानमन्त्री हुने सम्भावना समाप्त भएजस्तो आफूले देखेको बताए ।

अरुले पनि समयमा कदम नचाले देश फेरिपनि मध्यावधि निर्वाचनतर्फ धकेलिन सक्ने दाबी समेत ओलीले गरे । उनले भने, ‘कतिपय जो इच्छा गरिरहेका छन । पुष्पकमल दाहालजी, जो प्रधानमन्त्रीको ईच्छा गरिरहनु भएको छ । तर उहाँले मलाई लाग्छ–ढिलो गर्नु भयो । निर्णय गर्न ढिलो गर्नु भयो ।’

ओलीले थपे, ‘यदि तपाईले आँप पाकेकै बेला टिप्नु भएन भने खान पनि पाउनु हुन्न, बेच्न पनि पाउनु हुन्न । किनभने त्यो आफैं झरेर जान्छ । त्यसको रस, त्यसको फल, त्यसको प्रतिफल, त्यसको फाईदा समयले खाईदिन्छ । त्यसैले अब उहाँको सम्भावना सामान्यतः समाप्त भएजस्तो देखिन्छ । किनभने उहाँले समयमा कदम चाल्नु भएन ।’

अरुले पनि समयमा कदम चालेनन् भने देश फेरी घुमीफिरी मध्यावधितिर जान सक्ने सम्भावना औल्याउँदै ओलीले भने, ‘किनभने सरकार गठन नै हुन सकेको छैन आश्वार्थको टकरावले, संचालन कसरी होला ?’ अध्यक्ष ओलीले एमालेलाई सिध्याउँछु भन्ने तत्वहरु आफैं समाप्त भएको दाबी पनि गरे ।