प्रधानमन्त्री ओलीले भने 'प्राकृतिक रुपले उर्वर देशमा कसैलाई पनि भोकै मर्न दिन्न' - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

प्रधानमन्त्री ओलीले भने ‘प्राकृतिक रुपले उर्वर देशमा कसैलाई पनि भोकै मर्न दिन्न’



चैत १७, काठमाण्डौ । प्रधानमन्त्री केपी शार्मा ओलीले नेपाली कांग्रेसप्रति व्यङ्ग्य गर्दै देशमा अधिनायकवाद ल्याउने बताएका छन् ।

कोही पनि जनता भोकभोकै मर्न पर्ने अवस्थाको अन्त्य हुने दाबी गर्दै ओलीले जनताको हितमा गरिएको काम नै विपक्षीहरुलाई अधिनायकवाद जस्तो लाग्न सक्ने बताए ।

“कोही पनि खान नपाएर मर्नु पर्दैन भन्दा किन आत्तिन्छन् ? यस्तो प्राकृतिक रुपले उर्वर देशमा कसैलाई पनि भोकै मर्न दिन्न ।” ओलीले भने ।

देशमा अनुभूति गर्न सक्ने गरी सरकारले काम गर्ने दाबी गर्दै ओलीले भने, “यो देशमा सरकार छ कोही मर्नु पर्दैन । जाडोमा शितलहरमा एउटा कम्बल नपाएर कोही मर्दैन । जनता भोकले मर्दै छ भन्दा मन पोल्ने सरकार छ, त्यसैले अब हामी चुप लागेर बस्दैन । म देशको प्रधानमन्त्री छु । कम्बल ओढ्न नपाएर शितलहरले मर्नुपर्ने अवस्थाको अन्त्य हुन्छ । मेरो कुरा सुनेर कतिपयको मन पोलेका होला । अधिनायकवाद आउने नै भयो भन्ने लागेको होला ।”

आफूले राम्रा काम मात्रै गर्ने दाबी गर्दै ओलीले सरकारप्रति आशंका नगर्न आग्रह गरे ।

“मान्छे मर्न नपाउने, कठ्याङ्ग्रिन नपाउने, भोकै बस्न नपाउने, केही पनि गर्न नपाउने, अधिनायकवाद ल्याएरै छाड्नेभयो भन्ने लागेको होला । हो, यो अधिनायकवाद ल्याउने ल्याउने लक्षण हो ।” उनले भने ।

अहिलेको सरकारलाई विकास निर्माणका काम गर्न कुनै पनि अवरोध नभएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालको २० औँ वार्षिकोत्वसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अनावश्यक बाधा अबरोध नगर्न चेतवनी पनि दिए ।

“विकास गर्नका लागि व्यवधान पुर्याउने कुनै कुरा हामीलाई मान्य हुँदैन ।” ओलीले भने ।

विकास र समृद्धिका लागि भष्टाचार अन्त्य गर्नुपर्ने भएकाले आफू त्यसका लागि प्रतिवद्ध रहेको ओलीले बताए ।

“भ्रष्टाचार म सहन्न, आफू पनि गर्दिन अरुलाई पनि गर्न दिन्न, निमूल पार्छु ।” उनले भने ।

देश र जनताका लागि उचित योजना र लक्ष्य बनाएर अघि बढ्ने ओलीको भनाई छ ।
“हामी अन्धाधुन्ध हिँडेका छैनौँ, निर्दिष्ट लक्ष्य र गन्तव्य छ । गन्तव्यमा पुग्नका लागि सबै नीति र योजना तय गछौँ । अन्धाधुन्ध हिँड्दै जाउँ, जहाँ पुगिएर पुगिएला भनेर हिँडेको छैन ।” ओलीले भने ।

लोकतन्त्रले सबै जनताको जीवनस्तर उकास्ने बताउँदै उनले जनताले अनुभूति गर्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।