ओलीको जन्मदिन: चिटिक्क परेर जानुपर्ने, गाउँपालिकामा बिदा - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

ओलीको जन्मदिन: चिटिक्क परेर जानुपर्ने, गाउँपालिकामा बिदा



काठमाडौं- आफ्नो ६९ औँ जन्मदिन मनाउन प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतबार) बिहान तेह्रथुम जाँदैछन्।

विहान नौ बजे हेलिकप्टर मार्फत प्रधानमन्त्री तेह्रथुम प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

तेह्रथुमको आठराई गाउँपालिका ४ इवामा ओलीको जन्मघर छ। ओलीले जन्मघरमै आफ्नो ६९ औँ जन्मदिन मनाउन लागेका हुन्।

प्रधानमन्त्री ओली गाउँ आउन लागेको अवसरमा आठराई गाउँपालिकाले आइतबार स्थानीय तहमा सार्वजनिक बिदा दिएको छ।

प्रधानमन्त्री ओलीले आइतबार दिनभर तेह्रथुममा विभिन्न ठाउँमा विकास निर्माणका कामको शिलान्यास गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीले आज सडक, बैँक, खानेपानी लगायतका विकास निर्माणका कामको शिलान्यास र उद्घाटन गर्नेछन्।

छातेढुङ्गाको सुकेपोखरी, आफ्नो जन्मघर हुँदै ताप्लेजुङ्गको ढुङ्गेसाँघुमा रहेको मदन भण्डारीको जन्मघरसम्म जोड्ने मोटरबाटोको प्रधानमन्त्रीले शिलान्यास गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रधानमन्त्रीको स्वागतका लागि शिक्षकहरुलाई तोकिएको पोसाकमा उपस्थित हुन निर्देशन दिएको गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ।

प्रधनमन्त्रीको जन्मदिन मनाउन आउनेलाई चिटिक्क परेका ड्रेस लगाउन समेत उर्दी जारी गरिएको छ ।

यस अवसरमा दुई हजार विद्यार्थीलाई प्रमको तस्बिर र हस्ताक्षरसहितको डायरी र कलम तथा दुई सय वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ।

ओलीले आजै पाँचथरको कुम्यायक गाउँपालिकामा तमोर नदीबाट लिफ्टिङ प्रविधिबाट पुर्‍याइएको खानेपानी आयोजनाकोसमेत उद्घाटन गर्नेछन्।

सुरुमा खानेपानीको उद्घाटनपछि ओली आफ्नो गाउँ प्रस्थान गर्ने कार्यक्रम छ।

दिउँसो जन्मघरमा हुने आफ्नो जन्मोत्सव कार्यक्रममा सहभागी भएर ओलीले आफ्ना पुराना दौँतरीसँग भेटघाट र भलाकुसारी गर्नेछन्। कार्यक्रम सकेर आजै साँझ ओली काठमाडौँ फर्कनेछन्।