म तानासाहविरुद्ध लड्दा जेल गएँ, प्रचण्डले कपालमा जेल लगाएर बसे - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

म तानासाहविरुद्ध लड्दा जेल गएँ, प्रचण्डले कपालमा जेल लगाएर बसे



काठमाडौँ- एमाले अध्यक्ष केपी ओलीले तानासाहविरुद्ध लड्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कपालमा जेल लगाएर आएको र आफूले १४ वर्ष जेलमा बसेको बताएका छन्।

कालिकोटको रास्कोट नगरपालिका स्युना बजारमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले प्रचण्डले कपालमा जेल लगाएको र आफू जेल परेको बताएका हुन्।

प्रचण्डले जनयुद्धका नाममा भारतमा बसेर कपालमा जेल लगाएर सार्वजनिक भएको र आफूले तानासाहविरुद्ध लड्दा १४ वर्ष जेलमा बसेर निकै दुःख कष्ट गरेको बताए।

‘नेपालमा गरिबका छोरी छोरीलाई लड्न लगाएर आफू भारतमा बसेर कपालमा जेल लगाए,’ उनले भने, ‘जनयुद्धका नाममा आफन्तलाई सेवा–सुविधा दिइरहेका छन्। घाइते, अपाङ्ग र सहिद परिवारले के पाएका छन् ?’

उनले प्रचण्डले कपालमा जेल लगाएर सार्वजनिक भएको विषयमा कटाक्ष गर्दै भने, ‘कपालमा जेल लगाएर चिटिक्क परेर आएको होइन, म त तानासाहविरुद्ध लड्न जेलनेल खाएर आएको हुँ।’

माओवादी सङ्कटमा परेको वेला एमालेले उद्धार गरेर यहाँसम्म ल्याएको, तर धोका दिएको एमाले अध्यक्ष ओलीले बताए।

‘प्रचण्डलाई सहअध्यक्ष बनाएँ। माओवादीसँग मिलेर एउटै घोषणा पत्र ल्याऔँ। चुनावमा ३६ सिट जिताएँ। सिद्धिन्न लागेको माओवादीलाई बचाएँ। पार्टी एकीकरण गरेँ,’ उनले भने, ‘आफैँ अल्पमत पर्ने गरी मैले उनीहरूलाई पार्टीमा हैसियत दिएँ । तर, उनीहरूले त्यो गुन तिर्न सकेनन्।’

केही दिनअघि माओवादी अध्यक्ष प्रचण्डले रास्कोटमा आएर झुट बोलेको अध्यक्ष ओलीले आरोप लगाए। ‘काँग्रेसका पछि लागेर यही रास्कोटमा आएर झुट कुरा गर्ने। केपी ओलीले प्रतिगमन गर्‍यो भन्ने रु’ उनले भने, ‘मैले जनमतका लागि चुनावमा जाऊँ पो भनेको हुँ।’