कार्यकर्तालाई आन्दोलनमा पठाएर पशुपतिमा ओलीको धर्मकर्म - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

कार्यकर्तालाई आन्दोलनमा पठाएर पशुपतिमा ओलीको धर्मकर्म



काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सोमबार महँगी, भ्रष्टाचार र बेथितिविरुद्ध जनप्रदर्शन गर्ने तयारी केहीदिन अगाडि नै गरेको थियो । काठमाडौंको बसन्तपुरबाट सुरू गर्ने जनप्रदर्शन शान्तिबाटिकासम्म पुग्ने तयारी थियो ।

पूर्वतयारी अनुसार उपत्यकाका तीन वटै जिल्ला, उपत्यका विशेष प्रदेश कमिटी, जनसंगठन, सम्पर्क समन्वय कमिटी, केन्द्रीय निकाय लगायतले जनप्रदर्शनमा कार्यकर्ता उतारे । बसन्तपुरबाट जनप्रदर्शन सुरू भयो । झमझम पानी परिरहेकाले सहभागीहरू छाता र रेनकोटमा प्रदर्शनमा भाग लिए ।

बसन्तपुरबाट सुरू भएको प्रदर्शन नरदेवी, टंगाल, बांगेमुढा, असन, भोटाहिटी हुँदै शान्तिबाटिकासम्म पुग्यो । लगातारको वर्षामा भिज्दै प्रदर्शनमा निस्किएका कार्यकर्ताहरूले पार्टीका शिर्ष नेताहरू भने भेट्टाएनन ।

जनप्रदर्शनलाई पार्टी महासचिव शंकर पोखरेल उपस्थित थिए र उनैले सम्बोधन पनि गरे । संवोधनमा महासचिव पोखरेलले मुलुक श्रीलंकाको बाटोमा रहेकाले खबरदारी आवश्यक रहेको बताए । चर्का चर्का भाषण समेत गरे । सरकार जनताको नभएर माफियाको भएको समेत बताए ।

तर ४ साउनमा तय भएको पूर्वनिर्धारित जनप्रदर्शनमा कार्यकर्ताले अपेक्षा गरे अनुसार पार्टीका शिर्ष नेताहरू भेटिएनन । अध्यक्ष केपी शर्मा ओली भने सहभागी हुने कार्यकर्तामा आशा थियो ।

जनप्रदर्शन सकियो त्यसको केही समयमा अध्यक्ष ओली एक पुस्तक विमोचन कार्यक्रममा पुगे । उनले त्यहाँ आफूले सत्ता छोड्नुपर्नाका कारणहरू सप्रसंग व्याख्या गरे । नेपालको पानी विश्वलाई पुग्ने भन्दै सदुपयोग नभएको बताए । त्यही विचमा एउटा समाचार सार्वजनिक भयो- अध्यक्ष ओली पशुपतिनाथको मन्दिरमा उपस्थित हुँदैछन् । त्यो पनि साउन महिनाको सोमबार हुने विशेष आरति हेर्न । एकातिर पार्टीको जनप्रदर्शनमा नगएका ओली पशुपतिमा जाँदै गरेको खबरले कार्यकर्ता निरास बने ।

एकातिर पार्टीले आयोजना गरेको जनप्रदर्शनमा उनी गएनन । अर्कोतिर नेपालको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टीको अध्यक्ष धर्मकर्मको नाममा पशुपतिनाथको मन्दिरमा हुने आरतिमा पुगे ।

साउन महिनाको सोमबार हुने आरतिमा दलबलसहित अध्यक्ष ओली पशुपतिनाथको आरतीमा पुगे । पशुपति पुगेर ओली पूर्वनिर्धारित विभिन्न धार्मिक कार्यमा सहभागी भए । त्यतिमात्र होइन उनी तीन पटक प्रधानमन्त्री हुँदा ‘ईश्वर’को सट्टा ‘जनता’को नाममा शपथ लिएका नेता थिए ।

ओलीका निकट नेताहरूले ओलीको पशुपति यात्रालाई स्वभाविक मानेपनि कार्यकर्ता भने निरास बन्ने अवस्था आयो । पार्टीले आयोजना गरेको विशाल जनप्रदर्शनमा नगएर साउने सोमबार पारेर ओली पशुपति जानुलाई चासोका साथ हेरियो ।

उनी पशुपतिनाथमा पुगेपछि सामाजिक सञ्जालमा केहीले आलोचना समेत गरे ।

पार्टीको कार्यक्रम छोडेर धर्मकर्म गर्न पशुपति गएपछि उनको अहिले पनि आलोचना भैरहेको छ ।