एमसीसीमा एमाले पनि विभाजित : अल्पमतमा परेपछि आएन ओलीको सार्वजनिक धारणा - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

एमसीसीमा एमाले पनि विभाजित : अल्पमतमा परेपछि आएन ओलीको सार्वजनिक धारणा



अमेरिकी सहायता परियोजना (एमसीसी)लाई लिएर राष्ट्रिय राजनीति तरंगित बनेको छ । ५ दल मिलेर बनेको सत्तारूढ गठबन्धनको भविष्यमाथि नै चुनौती बनेको एमसीसीलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने कुनै औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

नेपाली कांग्रेस एमसीसीलाई संसदमा टेबल गरेर छिटो छिनोफानो गर्नुपर्ने पक्षमा छन् भने गठबन्धनमै रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा एमसीसीको विरुद्धमा उभिएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफू प्रधानमन्त्री हुँदा एमसीसी संसदबाट पास गराउन लागिपरेका थिए । प्रतिपक्षी बेन्चमा पुगिसकेपछि भने एमसीसीलाई लिएर ओलीले आफ्नो राजनीतिक नाफा-घाटा हेर्न खोजेका छन् ।

एमसीसीबारे नेपालमा चर्को बहस भैरहेका बेला अमेरिकाले तीन दलका शिर्ष नेताहरूलाई चेतावनी दिएको छ । बिहिबार बिहान अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेताहरूलाई टेलिफोन नै गरेर चेतावनी दिएका छन् ।

एमसीसी सम्झौता संसद्‌बाट अनुमोदन गर्ने वा नगर्नेमा नेपालका राजनीतिक दलहरुकाबीच तिव्र धुव्रिकरण बाढिरहेका बेला अमेरिकाले सिधै दवाव दिएपछि नेताहरू थप संकटमा परेका छन् । अमेरिकाकी राजदुत बेरीले प्रमुख दलका नेताहरुसँग भेटेर एमसीसी अनुमोदनका लागि ताकेता गरिरहेका बेला न्यूयोर्कबाटै पनि अमेरिकी सहायकमन्त्रीले नेताहरुलाई चेतावनी सहितको टेलिफोन गरेका छन् ।

फागुन १६ भित्रै एमसीसी सम्झौता संसदवाट अनुमोदन गराउने तयारीका साथ अमेरिकी सहायक मन्त्रीले नेपालका प्रमुख राजनीतिक दलका नेताहरुलाई छुट्टाछुट्टै संवाद गरेका छन् । अमेरिकाको दक्षिणपूवी एशिया हेर्ने सहायक विदेशमन्त्री लुले एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई टेलिफोन गरेका गरेका हुन् ।

राष्ट्रिय मुद्दा बनेको एमसीसीबारे आधिकारिक धारणा सार्वजनिक नगरेपनि एमालेमा दुई कित्ता प्रष्ट छ । ओली एमसीसी पारित गरेर कार्यान्वयन गर्नुपर्छ भन्नेमा छन् भने अन्य नेताहरू एमसीसीका पक्षमा लागे कम्युनिस्ट जनमत खस्कने डरमा छन् ।

ओलीले त सभामुखले एमसीसी टेबुल नगरिदिएकै कारणबाट प्रतिनिधिसभा विघटन गर्नुपरेको भन्दै सर्वोच्च अदालतलाई चिठीसमेत लेखेका थिए ।

भीम रावलले त पटक पटक सार्वजनिक कार्यक्रममै एमसीसी राष्ट्रघाती सम्झौता भएको बताइसकेका छन् । उनी यतिबेला एमसीसी भण्डाफोर अभियानमा सक्रिय देखिन्छन् ।

राष्ट्रिय मुद्दा भएकाले पार्टीले आधिकारिक रूपमै धारणा सार्वजनिक गर्नुपर्ने माग एमालेभित्र उठिरहेको छ । तर ओलीलाई एमसीसीका पक्षमा बोल्न अप्ठेरो छ, कारण हो एमसीसीका विषयमा ओली पार्टीभित्रै अल्पमतमा छन् ।

ओलीलाई महासचिव शंकर पोखरेललगायतका केही नेताहरूले साथ दिएपनि उपाध्यक्ष विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ र रामबहादुर थापा एमसीसीको विपक्षमा छन् । एमसीसीबारे पदाधिकारी बैठक बसेर निर्णय लिनुपरेको अवस्थामा ओली अल्पमतमा पर्ने प्रष्ट देखिएको एक नेताले बताए ।

‘एमसीसीबारे हाम्रो पार्टीले आधिकारिक धारणा सार्वजनिक गरेको छैन तर व्यक्तिगत रूपमा भन्नुपर्दा म एमसीसी पास हुनुपर्छ भन्ने पक्षमा छैन । एमसीसीको पक्षमा पार्टी हुने हो भने आगामी निर्वाचनमा अप्ठेरो पर्छ भनेर हामीले निरन्तर छलफल गर्दै आइरहेका छौं,’ ती नेताले हिमालपोस्टलाई बताए ।

एमसीसीका विषयमा प्रष्ट धारणा पार्नुपर्यो भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीलाई फोनसमेत गरेको एमाले नेता विष्णु रिजालले बताएका छन् । तर ओलीले पहिला सत्तारूढ गठबन्धन यसबारे प्रष्ट हुनुपर्ने भन्दै आफ्नो कुनै धारणा नभएको बताए ।