पूर्वराजा ज्ञानेन्द्र र केपी ओलीबिच भनाभन - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

पूर्वराजा ज्ञानेन्द्र र केपी ओलीबिच भनाभन



प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालिन राजा ज्ञानेन्द्रसँग नेपाल एकिकरणमा पृथ्वीनारायण शाहको भूमिकाबारे विवाद भएको रहस्योद्घाटन गरेका छन्। कीर्तिपुर युद्धमा ज्यान गुमाएका काजी कालु पाँडेका सन्ततिहरुसँग मंगलबार दिउसो भएको कुराकानीमा ज्ञानेन्द्रको प्रतिवाद गर्दा उनी आफूसँग रिसाएको खुलाशा गरेका हुन्।

काजी कालु पाँडेको समाधि रहेको काठमाडौँको दहचोकमा स्थापना गरिएको पाँडेकै प्रतिमाको शिलान्यास गरेकोमा ओलीलाई धन्यवाद दिन पाँडेका सन्ततीहरु बालुवाटार पुगेका थिए।

लडाइँमा कीर्तिपुरेहरुको आक्रमणबाट जब गोर्खाली सेनाका सेनापति काजी कालु पाँडे गम्भीर घाइते भए, उनले आफ्नो अन्त्येष्टी गोर्खा राज्यको सीमानाभित्र लगेर गरिदिन अनुरोध गरेका थिए। काठमाडौँ कब्जा गर्न नसकेपनि पृथ्वीनारायण शाहले अहिले काठमाडौँ जिल्लाभित्र पर्ने दहचोकसम्मको भूभागलाई समेत गोर्खाभित्र पारिसकेका थिए।

कीर्तिपुरको लडाईमा घाइते भएर मृत्युशैयामा पुगेका काजी कालु पाँडेको इच्छा बमोजिम दहचोकमा अन्त्येष्टी गरियो, ‘गोर्खाको सीमानाभित्र आफ्नो अन्त्येष्टी गरियोस्’ भन्ने पाँडेको अन्तिम चाहना पुरा गर्न गोर्खाको कब्जामा परिसकेको दहचोक छानिएको थियो।

त्यही दहचोकमा गत साल भ्यूटावरको शिलान्यास गर्न प्रम ओली पुगेका थिए। र, नेपाल एकिकरणमा युद्धमा कालु पाँडेको स्मरण गर्दै त्यहाँ त्यहाँ उन कालु पाँडे) को प्रतिमा स्थापना गर्न निर्देशन दिएका थिए।

‘यस ठाउँमा काजी कालु पाँडेको पूर्ण कदको शालिक राख्‍नुपर्छ, किनभने उनैले पृथ्वीनारायण शाहलाई पृथ्वीनारायण बनाउन भूमिका खेलेका थिए’ ओलीले भनेका थिए, ‘पृथ्वीनारायण शाहले लडाईमा गर्धन दिनुपरेन, कालु पाँडे नै हुन् जसले आफ्नो गर्धन दिएर पृथ्वीनारायणलाई पृथ्वीनारायण बनाए।’

प्रम ओलीले भ्यूटावर शिलान्यासमा मात्र निर्देशन दिएका होइनन्, त्यहाँबाट फर्केपछि त्यसका लागि थप निर्देशनपनि दिए। त्यही कारण कालु पाँडेका सन्ततिहरुको तर्फबाट धन्यवाद ज्ञापन गर्न उनीहरु प्रम निवास बालुवाटार गएका थिए।

‘तपाईकै कारण त्यहाँ हाम्रा पुर्खाको शालिक निर्माण हुनसक्यो, त्यसको शिलान्यास पनि तपाईंले नै गरिदिनुभयो’ उनीहरुले भने, ‘पोहोर साल त अझ ‘कालु पाँडेले आफ्नो गर्धन दिएर पृथ्वीनारायणलाई पृथ्वीनारायण बनाएको बताएर उहाँप्रति उच्च सम्मान प्रकट गर्नुभयो, यसप्रति हामी आभारी छौँ।’

आफूले गत साल भनेको कुरा आफ्नो निवास आएका ‘काजी कालु पाँडेका सन्तति’ हरुले स्मरण गराएपछि प्रम ओलीले केही बर्षअघि ‘पृथ्वीनारायण शाहका सन्तती’ सँगको कुराकानीको स्मरण गरे।

ज्ञानेन्द्रले सत्ता हत्याएपछिको कुराकानीमा हो वा उनी राजा बनेपछिको; त्यो कुरा ओलीले खुलाएनन्, तर कुरैकुरामा ज्ञानेन्द्रले ओलीसँग ज्ञानेन्द्रले भनेछन्, ‘यो देश मेरा पुर्खाले आर्जेका हुन्, त्यसैले म पनि चुप लागेर बस्दिन।’

सम्भवतः राजा ज्ञानेन्द्र र एमालेका तत्कालिन नेता ओलीबीचको कुराकानी तीतोपिरो हुन थालिसकेको थियो, त्यसैले ओलीले काजी कालु पाँडेको स्मरण गर्दै ज्ञानेन्द्रको भनाईको प्रतिवाद गरेछन्।

‘यो देश तपाईंका पुर्खाले मात्र आर्जेको होइन, यो देश निर्माणमा तपाईंका पुर्खाभन्दा नेपाली जनताका छोराछोरी अझ बढी भूमिका छ’ ओलीले भनेछन्, ‘कालु पाँडेजस्ता नेपाली जनताका छोराछोरीले लडाईंमा आफ्नो गर्धन थापिदिएकाले नेपाल एकिकरण भएको हो, पृथ्वीनारायण शाह पृथ्वीनारायण हुन सकेका हुन्।’