ओलीको गुनासो: 'पार्टी भित्रैबाट मलाई सिध्याउन खोजियो' - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

ओलीको गुनासो: ‘पार्टी भित्रैबाट मलाई सिध्याउन खोजियो’



पोखरा- प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टी भित्रबाट आफूलाई सिध्याउने प्रयत्न भैरहेको बताएका छन् ।

उनले आफूमाथि चौतर्फी आक्रमणको प्रयास भैरहेको भन्दै आज पोकरामा गुनासो पोखेका छन् । उनले सरकारको विरोध गर्नेहरू विषय नपाएर आफैं विषय बनाउँदै हिँडेको आरोप समेत लगाएका छन् ।

नेकपा गण्डकी प्रदेशद्वारा सोमबार आयोजित प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले भने, ‘अहिले केही विषय नपाएपछि कोट मिलेन, टोपी मिलेन, दौराको रङ मिलेन भन्ने विषय बनाएर हिँडेका छन् ।’

उनले संसद्मा विधेयक छलफल गर्नुभन्दा पहिला माइतीघर मण्डला पुग्ने र जनतालाई भ्रम छर्दै सरकारलाई असफल बनाउन सक्रिय भएको बताए । ‘हामी महान् उद्देश्यका साथ अगाडि बढेका छौँ, दूरगामी महत्त्व र असाधारण कामको थालनी भएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘जनताले महसुस गर्न काम गरेका छौँ, सस्तो लोकप्रियताका लागि यो सरकारले काम गर्दैन, यो देशमा परिवर्तनको सङ्कल्प र उत्तरदायित्व बोकेको सरकार छ ।’

अहिले मार्क्सवाद नबुझेकाले मात्र कम्युनिष्टको विरोध गरेको भन्दै प्रधानमन्त्री ओलीले मार्क्सवादले मानवीय आकाङ्क्षालाई प्रतिबिम्बित गर्दै दार्शनिक बाटो दिने बताए ।

अहिले समाजवादतर्फ जाने आधार तय भएको उल्लेख गर्दै उनले ‘कम्प्रिहेन्सिव डेमोक्रेसी’मार्फत मानवअधिकारका विविध आयामलाई समेटेको बताए । उनले भने, ‘मार्क्सवाद विषयवस्तुको ग्रन्थ होइन समाजवाद हो, यसले सामाजिक न्याय र समाजवादमा जोड दिन्छ।’

उनलले सुशासन र विकास अहिलेको मुख्य एजेन्डा भएको उल्लेख गरे। समृद्ध नेपालका लागि सुशासन र विकासलाई सरकारले प्राथमिकतामा राखेर अगाडि बढेको र राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न सरकारसँग सकारात्मक दृष्टिकोण रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसलाई पूरा गर्ने उच्च सामर्थ्यका साथै इच्छाशक्तिसमेत वर्तमान सरकारमा रहेको बताए।

पुष्पलाल र मदन भण्डारीले देखाएको बाटोमा स्पष्ट सैधान्तिक दृष्टिकोणका साथ हिँडिरहेको नेकपासँग राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा सफलता र असफलताका सबै आन्दोलनका अनुभव रहेकाले पार्टी जनताप्रति उत्तरदायी र जिम्मेवार रहेको स्पष्ट पारे ।

‘सात दशक लामो आन्दोलनको अनुभवलाई वस्तुगत अवस्थाभन्दा पृथक सिद्धान्त र व्यावहारिकरूपबाट जनतामा केन्द्रित गरेका छौँ,’ उनले भने, ‘दर्शन समाज परिवर्तनका साथै मानव जीवनको दक्षताका लागि हुनुपर्छ ।’

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनता र पार्टीबीचको सम्बन्ध बिग्रँदै गएको बताए । उनले जनताका सुखदुःखमा साथ र सहयोगका लागि उनीहरूका घर एवं बस्तीमा पुग्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

कम्युनिष्ट पार्टी जनताको कसीमा बाँधिनुपर्नेमा जोड दिँदै उनले पार्टीको अस्तित्व सक्ने गरी कुनै पनि गतिविधि एवं क्रियाकलाप गर्न नहुने जिकिर गरे । मुख्यमन्त्री गुरुङले कम्युनिष्ट पार्टीलाई जनताको बीचमा सुरक्षित राखिराख्नुपर्ने र अन्तरघातबाट पार्टीलाई बचाउनुपर्ने बताए ।

पार्टी भित्रैबाट आफैँलाई सिध्याउने काम हुँदा प्रतिक्रियावादीलाई सजिलो भएको भन्दै आगामी दिनमा पार्टीलाई थप मजबुत र एकताबद्ध बनाउनका लागि गोपनीयता, इमान्दारी जस्ता कुरामा ध्यान दिनुपर्ने उल्लेख गरे । पार्टीमा सादा जीवन उच्च विचारको आदर्शलाई कायम गराउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री गुरुङले यसलाई नेकपाले जीवित तुल्याउन प्रयत्न गरिरहेको जिकिर गरे ।