राप्रपा र जसपालाई राष्ट्रिय पार्टी बनाउने केपी ओलीको घोषणा - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

राप्रपा र जसपालाई राष्ट्रिय पार्टी बनाउने केपी ओलीको घोषणा



काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी ओलीले गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ४ मंसिरको निर्वाचनपछि एमालेकै कारण राष्ट्रिय पार्टी बन्ने घोषणा गरेका छन्।

शुक्रबार धरानमा जसपाबाट सुनसरी क्षेत्र–१ मा उम्मेदवारी दिएका पूर्वएमाले नेता अशोक राईको चुनावीसभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

उनले जसपा राष्ट्रिय पार्टी बन्ने भए पनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले दशा बिग्रिएर एमाले छाडेको बताए। सत्तारुढ गठबन्धले एमाले एक्लै भएको हल्ला चलाएकाले जसपा र राप्रपासँग तालमेल गरिएको अध्यक्ष ओलीको भनाइ छ।

‘जसपा यसपल्ट राष्ट्रिय पार्टी नै कायम रहन्छ। लोसपा हामीसँग अलिक समय थियो।, कसको इसारामा के भयो, हामीलाई छाडेर गठबन्धनतिर लाग्यो’, ओलीले भने, ‘दिन दशा बिग्रिएपछि त्यस्तै हुँदो रहेछ। गठबन्धनतिर लागेकाले राष्ट्रिय पार्टी रहँदैन।

राप्रपाले समयमै बुद्धि पुर्‍याएर एमालेसँग जोडिन आएकाले चुनावमा राम्रो नतिजा ल्याउने दाबी ओलीले गरे। एमालेसँग लड्न सक्ने पार्टी कांग्रेस भए पनि उसँग विचार र संगठन सकिएको ओलीले सुनाए।

उनले भने, ‘कांग्रेससँग विचार छैन, संगठन छैन। बैसाखी टेकेर हिँडेको छ। कांग्रेस सभापतिले भनेको सुन्नुभएकै होला–एक्लै लड्न गयो भने एमालेले सिध्याउँछ भनेको। गठबन्धन हुँडारको जत्था हो।’

ओलीले सुनसरी क्षेत्र–१ बाट अशोक राईलाई एमालेले जिताउने र चुनावपछि माधव नेपालको पार्टी रित्तिने उद्घोष गरे।