ओली मात्रै खराब हुन्, एमालेका कार्यकर्ता एकदमै इमान्दार छन् : घनश्याम - Himal Post Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

ओली मात्रै खराब हुन्, एमालेका कार्यकर्ता एकदमै इमान्दार छन् : घनश्याम



काठमाडौँ । रुपन्देही-१ बाट सत्तारूढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘बनमारा झार’ को संज्ञा दिएका छन् ।

देशको संवैधानिक फूलहरूको बगैँचामाथि बनमारा झारले आक्रमण गरेको भनी उनले टिप्पणी गरे ।

भुसालले भने, ‘ओली साँच्चिकै बनमारा झार रहेछन्, अन्ततः उनले आफ्नो चरित्र देखाइ छाडे । बनमाराले आफ्नो अस्तित्व समेत सङ्कटमा पार्ने गरी बगैँचा उजाड बनाउने कोसिस गर्‍यो ।’

शुक्रबार जिल्लाको धकधइ क्षेत्रका मतदाताहरूसँग कुरा गर्दै भुसालले नेकपा एमालेमा रहेका अधिकांश नेता कार्यकर्ताहरू इमानदार रहे पनि नेतृत्व भने गलत तर्क गरे ।

ओलीले एमालेको पार्टी प्रणाली मात्रै नभएर लोकतन्त्र र देशको संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेर बनमारा झारको चरित्र देखाएको भुसालको भनाइ छ ।

कमल थापाहरू सूर्य चिन्हबाट चुनाव लडेको तर्फ सङ्केत गर्दै भुसालले भने, ‘पञ्चहरूले एमालेको चिन्ह लिएर लड्ने तर पार्टीमा वर्षौँसम्म काम गरेका नेताहरूले टिकटका लागि माफी माग्नुपर्ने ? यस्तो पनि हुन्छ ?’ आफूले साढे ४ दशक पसिना बगाएको पार्टीबाट विद्रोह गरेको उल्लेख गर्दै उनले इमान्दार एमाले कार्यकर्ताहरूले आफूलाई साथ दिने बताए ।