जबसम्म ओली रहन्छन् तबसम्म एमाले सुध्रिन्न- घनश्याम भुसाल - Himal Post Himal Post
  • ३ पुष २०८२, बिहीबार
  •      Thu Dec 18 2025
Logo

जबसम्म ओली रहन्छन् तबसम्म एमाले सुध्रिन्न- घनश्याम भुसाल



काठमाडौँ- त्रिभुज चिह्न लिएर सत्तारूढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले केपी शर्मा ओलीको छाया रहेसम्म एमाले नसुध्रिने बताएका छन् ।

शुक्रबार आफ्नो निर्वाचन क्षेत्र रुपन्देही १ का मतदातासँग कुरा गर्दै भुसालले विचारबिनाको राजनीतिले विकास र समृद्धिको दिशामा समाजलाई डोर्‍याउन नसक्ने बताए ।

ओलीले विकासको भाष्य नै बिगारेर विकासलाई समाजबाट अलग गर्न खोजेको उनको आरोप छ ।

‘ओलीजीले भनेझैँ हामी प्रशान्त महासागरमा नेपालको झन्डा भएको पानी जहाज नै चलाएछौँ भनेपनि त्यो पानी जहाजले रुपन्देहीका जनताका लागि योगदान गर्न सक्दैन भने त्यसको काम छैन, उनले भने, ‘भ्यू टावर, पानी जहाज र रेलको कुरा गरेर जनतालाई गुमराहमा राख्ने र भ्रष्टाचारमा लिप्त हुने परिपाटि नेपाली राजनीतिको सबैभन्दा खराब पक्ष हो, त्यसबारे नागरिक सजग हुनुपर्छ ।’

भुसालले विगत १० वर्षसम्म आफूले पार्टीभित्र वैचारिक बहस गरेको तर ती बहसहरूलाई ओलीले व्यक्तिगत रूपमा लिएर आफूमाथि प्रहार गरेको बताए ।

सो क्रममा नेपाली काँग्रेसबाट गठबन्धनको प्रदेशसभा सदस्य पदको उम्मेदवार अब्दुल रज्जाक र विश्वनाथ यादवले गठबन्धनको जितले मात्रै देश विकास र समृद्धिको मार्गमा अगाडि बढ्ने बताए ।