गठबन्धनको विरोध गरेर नथाक्ने ओलीले भने: हाम्रो पनि गठबन्धन हुन्छ - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

गठबन्धनको विरोध गरेर नथाक्ने ओलीले भने: हाम्रो पनि गठबन्धन हुन्छ



कञ्चनपुर- जहिले पनि गठबन्धनको विरोध गरेर नथाक्ने एमाले अध्यक्ष केपी ओलीले पनि एमालेले पनि गठबन्धन गर्ने बताएका छन् ।

गठबन्धनको चर्को विरोध गरिरहेका ओलीले एमालेले पनि गठबन्धन गर्न सक्ने संकेत गरेका छन्। बुधबार कञ्नपुरमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले स्थानीय स्तरमा मात्रै गठबन्धन हुने बताएका हुन्।

राष्ट्रव्यापी रुपमा एमाले एक्लै निर्वाचनमा होमिने बताउँदै स्थानीय स्तरको माग अनुसार गठबन्धन हुने उनले बताए।

‘केही-केही ठाउँमा हाम्रोपनि गठबन्धन हुनसक्छ । स्थानीय स्तरमा पार्टीले तालमेल गरे मान्नुपर्छ, देशभरि भने सूर्यको लहर अभियान हुन्छ। सूर्य चिह्न र सूर्यमा मतदान हुन्छ,’ उनले भने।

मंसिर ४ को निर्वाचनमा एमालेले कम्तिमा १५० सिट जित्ने उनले दाबी गरेका छन्। गठबन्धनसँग नेता मात्रै भएका र जनता आफूसँग रहेको उनको भनाइ छ।

सत्तारुढ दलबाटै आफ्नो पार्टीमा प्रवेशको लहर चलेको बताउँदै ओलीले आफ्ना लागिभन्दा पनि देशका लागि बहुमत ल्याउनैपर्ने दबाबमा एमाले रहेको उल्लेख गरे।