एकाएक शीतलनिवासमा किन पुगे ओली ? - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

एकाएक शीतलनिवासमा किन पुगे ओली ?



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुगेका छन्। मंगलबार साँझ प्रधानमन्त्री ओली परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित शीतल निवास पुगेका हुन्। प्रधानमन्त्री ओली तीन दिने भारतको राजकीय भ्रमणको ब्रिफिङ गर्न राष्ट्रपति भवन शीतल निवास पुगेको राष्ट्रपति कार्यालयले जनाएको छ। प्रधानमन्त्री ओलीले चैत २३ देखि २५ गतेसम्म भारतको तीन दिने राजकीय भ्रमण गरेका थिए।

भारत भ्रमण जानु अघि संघीय संसदमा जानकारी गराएका प्रधानमन्त्री ओली दिल्लीबाट फर्किएपछि भ्रमणको जानकारी शीतल निवास पुगेका हुन्।

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिको विषय पेचिलो बन्दै गर्दा प्रधानमन्त्री राष्ट्रपति निवास पुग्नुलाई महत्वका साथ हेरिएको छ। नेपाल प्रहरीका डीआईजी सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्कीको नाम चर्चामा रहेका बेला प्रधानमन्त्री राष्ट्रपति निवास पुग्नुलाई महत्वका साथ हेरिएको हो।

डीआईजीमा बढुवा हुँदा पहिलो, दोस्रो र तेस्रो नम्बरमा रहेका खनाल, खरेल र कार्कीमध्ये एकजना आईजीपी बन्ने अनुमान गरिएको छ। अन्य डीआईजीहरुको चर्चा भए पनि पहिलो सूचीमा रहेका तीनमध्ये एकजनालाई मन्त्रिपरिषद् बैठकले आईजीपी बनाउँने छ।

वरियतामा पहिलो नम्बरका खनाल गुण्डागर्दीविरुद्धको अपरेशन पर्नेमा चर्चित छन्। अनुसन्धानमा अब्बल अधिकृतका रुपमा खनाल चिनिन्छन्। उनले अहिले ट्राफिक महाशाखाको नेतृत्व गरिरहेका छन्। कुमार घैँटेसहित आपराधिक क्रियाकलापमा सं‌लग्नलाई खनालकै पाला इन्काउन्टर भएको हो।

काठमाडौं प्रहरी प्रमुख, धनुषा प्रहरी प्रमुख हुँदै अञ्चल प्रहरी कार्यालय नारायणी र महानगरीय अपराध महाशाखाको नेतृत्व सम्हालेका खनाल वरियताक्रममा समेत एक नम्बरमा छन।

दोस्रो नम्बरका खरेल ‘जनप्रिय’ प्रहरी अधिकृतका रुपमा चिनिन्छन्। उनले आफू खटिएको क्षेत्र र जिल्लामा अपराधिक समूहलाई नियन्त्रणमा लिने काममा सफलता पाएका थिए। भ्रष्टाचार र अपराधविरुद्ध खुलेरै बोल्ने उनी दुई पटक काठमाडौंको प्रहरी प्रमुख भएर काम गरिसकेका छन्।

एसपीका रुपमा कास्की प्रहरी प्रमुख हुँदा पोखराको गुण्डागर्दीविरुद्ध उत्रिएर उनी चर्चामा आएका अधिकारी हुन्। काठमाडौँको गुण्डागर्दीदेखि पर्साको वीरगन्जमा तस्करीविरुद्ध कडा कदम चालेर उनी चर्चामा आएका थिए। सामाजिक सञ्जालमा समेत उनका धेरै प्रशंसक छन्। उनले प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा निर्देशनालयको नेतृत्व सम्हालिरहेका छन्।

तेस्रो वरियाता क्रममा रहेका पुस्कर कार्की पनि अब्बल अधिकृतका रुपमा चिनिन्छन्। महानगरीय अपराध महाशाखाको प्रमुख भएपछि कार्की चर्चित भए। उनको नेतृत्वमा गुण्डागर्दीमा संलग्न दिनेश अधिकारी ‘चरी’को इन्काउण्टर भएको थियो।

हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रमुख रहेका कार्कीको कमाण्डमा निर्माण व्यवसायी शरदकुमार गौचनको हत्याका योजनाकार समिरमान बस्नेत पक्राउ परे। मोरङको प्रहरी प्रमुख हुँदा समेत उनी चर्चामा आएका थिए। उनी प्रहरीमा रहँदा कुनै दाग लागेको छैन।

आईजीपीका मुख्य दाबेदार खनाल, खरेल र कार्कीमध्ये खरेल सबैभन्दा पहिले प्रहरी सेवा प्रवेश गरका हुन्। तीनैजना उत्तिकै अब्बल भएकाले सरकारले सबैपक्षसँग छलफल गरेर मात्र निर्णय गर्ने तयारी गरेको छ। यसरकारले मंगलबार नै आईजीपी नियुक्ति गर्ने तयारी गरिरहेको छ।

प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समेत आईजीपी नियुक्तिको विषयमा छलफल गर्दै छन्। अन्नपुर्ण पोष्ट