प्रधानमन्त्री ओलीले भने: प्रचण्डसँग मेरो दूरी केहि बढेकै हो
काठमाण्डौ – प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आफ्नो दूरी बढेको कुरा सत्य भएको बताएका छन् । उनले ठट्यौली पारामा बाकु गएपश्चात आफूहरूको दूरी बढेको बताए ।
असंलग्न राष्ट्रहरुको बाकुमा आयोजित १८औं सम्मेलनमा भाग लिएर आईतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिंदै अध्यक्ष प्रचण्डसँग आफ्नो दूरी नेपाल हुँदा भन्दा अलिकति बढेको बताए।
प्रधानमन्त्री ओलीले भने, ‘रमाइलो कुरा गर्नुभयो, काठमाण्डौ हुँदाभन्दा बाकुमा हुँदा टाढा त हुनै नै भयो’, प्रधानमन्त्री ओलीले व्यंग्यात्मक शैलीमा भने, ‘यसभन्दा बाहेक दूरी बढेको छैन, दूरी बढेको भन्ने गणित चाँहि मिलेन । हामीबीच कुनै प्रकारको दूरी बढने सम्भावना र अवस्था दुवै छैन ।’
प्रधानमन्त्री ओली र प्रचण्डबीच पछिल्लो समय दूरी बढेको समाचार विभिन्न समाचार माध्यममा आइरहेका थिए । प्रधानमन्त्री ओलीले भने त्यस्तो कुनै पनि प्रकारको सम्भावना नरहेको बताए ।प्रचण्डले मदन भण्डारीसँग आफूलाई तुलना गर्नु भयो नि ? भन्ने प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले के प्रसंगमा त्यसो भन्नु भएको हो ? आफूले नसुनेको बताए ।
‘म यति भन्न सक्छु, उहाँले म मदन भण्डारीको विचारहरुलाई लिएर पार्टीलाई समय अनुकूल अगाडि बढाउँछु, बढाउने इच्छा राख्छु भन्नु भएको हुनुपर्छ’, प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘त्यसकारण यस विषयलाई लिएर आफूहरुबीच दूरी बढेको भन्न मिल्दैन, बरु दूरी घटेको भन्नुपर्छ ।’