सुर्यमा भोट हाले देउवाको पाप कटिन्छ, पुण्य मिल्छ: केपी ओली - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

सुर्यमा भोट हाले देउवाको पाप कटिन्छ, पुण्य मिल्छ: केपी ओली



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सूर्यमा भोट हाल्न भन्दै कटाक्ष गरेका छन् । सूर्यमा भोट हाले देउवाले कम्तीमा जीवनमा पाप कटिने र एउटा पुण्य कमाउने ओलीले बताए । 

शनिबार एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले भने, ‘शेरबहादुरजीलाई म भन्न चाहन्छु कमसेकम ज्येष्ठ नागरिक हो तपाईं । लौरो टेकेर भए पनि सूर्य चिह्नमा भोट हाल्नुहोस् अरुले नदेख्ने गरी भए पनि । कम्तीमा जीवनमा एउटा पुण्य कमाउनुहुन्छ ।’ 

वृद्धभत्ता ४ हजार रुपैयाँ पुर्‍याउनु आफू नेतृत्वको सरकारको महत्त्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गर्दै ओलीले भने, ‘बुढो भएर पनि कांग्रेसमा शेरबहादुर देउवा किन छन् भन्दा उनलाई ४ हजार भत्ता के गर्नु ? छँदैछ । नत्र शेरबहादुर देउवा पनि लौरो टेकेर एमालेमा आउँथे ।’

सम्बाेधनका क्रममा ओलीले अहिलेको सत्तारुढ गठबन्धनलाई जनताको आँगनमा लगेर पछारिदिने चेतावनी दिए । अदालतले बनाएको गठबन्धनलाई जनताको आँगनमा पछारिदिने उनकाे भनाइ छ । 

‘यो गठबन्धन त केही पनि होइन, यो जनताले बनाएको हो र ? यो त अदालतले बनाइदिएको हो । यस्तालाई जनताको आँगनमा लगेर पछार्दिने हो’, ओलीले भने । ओलीले कांग्रेससँग कुनै पनि एजेन्डा नभएकाले अघिल्लो सरकारको भण्डाफोर गर्ने नीति भनेर हल्ला गरेको आरोप लगाए । उनले स्थानीय चुनावबाटै पार्टीले प्रादेशिक र संघीय चुनावको झलक दिने पनि दाबी गरे ।