ओली भन्छन्- ‘लाइभ डिबेट’ गरौँ न भनेको गठबन्धनका नेताहरू भागे
काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले सार्वजनिक बहस (लाइभ डिबेट) गर्न आह्वान गर्दा सत्ता गठबन्धनका नेताहरू भागेको बताएका छन् ।
बिहीबार गृहजिल्ला झापाको सुरुङ्गामा चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनका नेताहरूसँग बहस गर्ने एजेन्डा नभएकाले ‘लाइभ डिबेट’ नगरेको दावी गरेका हुन् । उनले देशका लागि के गर्ने भनेर गठबन्धनका नेतासँग बहस गर्न आफू तयार भएको बताए ।
‘देशका लागि के गर्ने भनेर गठबन्धनका नेतासँग बहस गर्न चाहन्छु। सार्वजनिक बहस गरौँ। एमाले के गर्न चाहान्छ म भन्छु, गठबन्धन के गर्न चाहन्छ तपाईँहरू भन्नुहोस्, सँगै बसेर छलफल गरौँ भनेको उहाँहरूको भागाभाग भयो । बहस गर्न तयार हुनुभएन । किनभने उहाँहरूसँग बहस गर्ने एजेन्डा नै छैन।’, उनले भने ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले कात्तिक १ गते प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई ‘लाइभ डिबेट’मा आउन आग्रह गरेका थिए । त्यसैगरी ओलीले हालको सत्ता गठबन्धन देश बिगार्न बनको आरोप लगाएका छन् ।