उपभोक्ता ठग्दै आयल निगम, अनियमितता र बदमासीमा सरकारी समर्थन - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

उपभोक्ता ठग्दै आयल निगम, अनियमितता र बदमासीमा सरकारी समर्थन



काठमाडौं- नेपाल आयल निगमले हदैसम्मको बदमासी गर्न थालेको छ । निगमले उपभोक्तालाई ठग्ने गरी कसरी काम गरिरहेको छ पछिल्लो मूल्यवृद्धि हेरे पुग्छ ।

आन्तरिक बदमासीमा कहिल्लै कडाई नगर्ने निगमले भारतबाट किनेर ल्याएको मूल्यमा थप गरेर उपभोक्तालाई बेच्दा पनि घाटा भयो भनेर हिसाब देखाउने गरिरहेको त हामीले सुनेकै छौँ । उपभोक्ताले आवाज उठाउन छोडेपछि निगमले पछिल्लो समय झनै बदमासी गर्न थालेको छ ।

तीन पटक सम्म भारतबाट मूल्य घटेर आउँदा नेपालमा मूल्य घटाउन आनाकानी गरेको निगमलेथोरै मूल्य बढेर आउने वित्तिकै उपभोक्ताको ढाड सेकिनेगरी भाउ बढाएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले जुलाई १६, अगस्ट १ र अगस्ट १६ मा प्रतिलिटर पेट्रोलमा ३४ रुपैयाँ ५ पैसा र डिजेलमा ३३ रुपैयाँ ८५ पैसा घटाएर पठाएको थियो।

तीन पटकसम्म भाउ घटेर आउँदा निगम चुपचाप बस्यो । घटाउने सुरसारै गरेन । उपभोक्तालाई निगमले एक हिसाबले ठगेको नै उपभोक्ता अधिकारवादी बताउँछन् । तर विहीबार भने दिउँसो भारतबाट बढेर आएको केहि घण्टा नबित्दै निगमले भाउ बढाइहाल्यो ।

‘भदौ १६ गते प्राप्त मूल्यअनुसार पेट्रोलमा १ रुपैयाँ १९ पैसा, डिजेलमा ६ रुपैयाँ १२ पैसा, हवाई इन्धनमा ८ रुपैयाँ १ पैसा बढेर आएको छ। मट्टीतेल र ग्यासको मूल्यमा केही घटेर आए पनि ग्यासमा अझै प्रतिसिलिन्डर ३ सय ७८ रुपैयाँ ७ पैसा घाटा छ,’ निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रतिलिटर डिजेलमा ११ रुपैयाँ १८ पैसा घाटा र पेट्रोलमा २ रुपैयाँ ८२ पैसा नाफा छ। समग्र्रमा निगमलाई १५ दिनमा ४८ करोड २४ लाख घाटा हुने स्थिति छ।’

अब डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ७८ रुपैयाँ पुगेको छ। मूल्य वृद्धिपश्चात् निगमको पाक्षिक नोक्सानी ३० करोड ५२ लाख छ।

आईओसीलाई तिर्नुपर्ने बक्यौता, वाणिज्य बैंक र सरकारलाई ऋण तिर्नुपर्ने बाध्यताले दबाब रहेको निगमले जनाएको छ।

यति धेरै बदमासी गर्दा पनि सम्बन्धित निकाय, सरकार र उपभोक्ताको संरक्षण गर्ने निकायहरू कानमा तेल हालेर बस्नुले अनियमितता र बदमासीमा समर्थन जनाएको बुझिएको छ ।