एमाले अध्यक्ष ओलीले चुच्चे नक्सामा समेटिएको ठाउँबाट चुनावी सम्बोधन गर्ने
काठमाडौं – नेकपा एमालेले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि राष्ट्रव्यापी चुनावी सभाको आयोजना गर्ने भएको छ । एमालेले कात्तिक १८ गते सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट राष्ट्रव्यापी रुपमा चुनावी अभियानको सुरूवात गर्ने भएको हो ।
उक्त अभियानको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले प्रदेश सचिव धर्म पाठकले जानकारी दिए । उनले आगामी निर्वाचनमा एमालेले अतिक्रमित भूमि फिर्ता गर्ने कुरा सशक्त रूपमा उठाउने बताए ।
अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा चुच्चे नक्सा समेटिएको ठाउँबाट चुनावी अभियान थाल्नुले पनि अतिक्रमित भूमि फिर्ता गराएको एजेण्डालाई महत्वपूर्ण क्रेडिटको रूपमा चुनावी मिसन बनाउने संकेत देखिएको छ ।
दार्चुला सदरमुकाम खलंगामा १८ गते बिहान ११ बजे आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने छन् । त्यसै दिन दिउँसो २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा पनि ओलीले चुनावी अभियान उद्घाटन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।