ओली र चित्रबहादुर केसीको नयाँ गठबन्धन - Himal Post Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

ओली र चित्रबहादुर केसीको नयाँ गठबन्धन



काठमाडौं– सत्तारुढ नेकपा र नेकपा मसाल समर्थित राष्ट्रिय जनमोर्चाले १४ मंसिरको उपनिर्वाचनमा प्रतिनिधसभा र प्रदेशसभामा तालमेल गर्ने सहमति गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटवार्तामा प्रधानमन्त्री केपी ओली र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीबीच चुनावी तालमेल गरेर जाने विषयमा सहमति भएको हो ।  ‘पहिले जसले जुन क्षेत्रमा निर्वाचन जितेको छ, ती निर्वाचन क्षेत्र त्यही पार्टीले लिने गरी सहमति भएको छ,’ अध्यक्ष केसीले भने, ‘यो सहमतिअनुसार अब हामी छिट्टै उम्मेदवारको नामावली टुंग्याउँछौँ ।’

तीन सिटमा नेकपा, एक सिटमा जनमोर्चा
दुई पार्टीले चार सिटमध्ये तीन सिट नेकपा र बाँकी एक सिट राष्ट्रिय जनर्मोचाले लिनेगरी सहमति गरेका छन् । यो सहमतिअनुसार प्रतिनिधसभाअन्तर्गत कास्की क्षेत्र नं‍ २, प्रदेशसभाअन्तर्गत दाङ ३ (ख), भक्तपुर १ (ख) मा राष्ट्रिय जनर्मोचाले नेकपाको उम्मेदवारलाई सहयोग गर्नेछ । तीमध्ये कास्कीमा संघीय संसदको प्रतिनिधिसभा र बाँकीमा प्रदेशसभाको निर्वाचन हुनेछ ।

बाग्लुङ २ (ख) मा प्रदेशसभाको उपनिर्वाचन हुनेछ । ती क्षेत्रमध्ये कास्की २ बाट नेकपाका सांसद तथा बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा १५ फागुनमा निधन भएको थियो । दाङ ३ (ख) बाट प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको कार दुर्घटनामा निधन भएको थियो । भक्तपुर १ (ख) बाट निर्वाचित हरिशरण लामिछानेको उच्च रक्तचाप बढेपछि उपचारका क्रममा निधन भएको थियो । नयाँ पत्रिकाबाट