ओलीले भने- चार वर्ष अगाडिको चेक छ, केस षड्यन्त्रपूर्ण छ - Himal Post Himal Post
  • १३ आश्विन २०८१, आईतवार
  •      Sun Sep 29 2024
Logo

ओलीले भने- चार वर्ष अगाडिको चेक छ, केस षड्यन्त्रपूर्ण छ



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी हुनु षड्यन्त्रपूर्ण भएको बताएका छन् ।

चार वर्षअगाडि चेक काटेको, त्यो पनि उसैसँग हुनु रहस्यमय भएको बताए । उनले एउटा सांसद, उपप्रधानमन्त्री भइसकेको पार्टीको नेता षड्यन्त्रपूर्ण ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनु रहस्यपूर्ण भएको पनि बताए ।

उनले बहालवाला सांसदलाई बाटोमै पक्राउ गर्नु रहस्यमय भएको टिप्पणी गरे । निर्दोष पर्न नहुने र दोषीलाई उम्काउन नहुने ओलीको भनाई थियो ।

निर्दोषलाई फसाउन खोजे आफूहरूले नसहने उनले चेतावनीसमेत दिए । रायमाझीबारे उनले भने, ‘यो तानिएको हो कि तनाइएको हो अध्ययन गर्दैछौं ।’

ओलीले थपे , ‘चार वर्षअगाडि चेक काटेको छ । त्यो पनि उसैसँग रहेको कुरा छ । एउटा सांसद, उपप्रधानमन्त्री भइसकेको पार्टीको नेता षड्यन्त्रपूर्ण ढंगले बाटोमा हिँड्दाहिँड्दै समाउनु रहस्यपूर्ण छ । भागेर जाने कुरा होइन ।’

पक्राउ पुर्जीपछि आफूले पनि फोन गरेर कुरा गरेको बताउँदै रायमाझी काठमाडौं आउँदै गरेको उनले जनाए । उनले त्यसबारे प्रधानमन्त्रीलाई पनि ध्यानाकर्षण गराएको बताएका छन् ।