ओलीलाई विश्वप्रकाशले सिकाए राजनीतिक संस्कार - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

ओलीलाई विश्वप्रकाशले सिकाए राजनीतिक संस्कार



काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मदन भण्डारी नामक किताब पढ्न आग्रह गरेका छन्। कांग्रेस नेताहरुप्रति लक्षित गर्दै ओलीले ‘पागल’ भनेपछि महामन्त्री शर्माले उक्त किताब पढेर संस्कार सिक्न आग्रह गरे।

‘मेरै जिल्लाबासी, जो बालकोटमा बस्नुहुन्छ। यो देशको प्रधानमन्त्री भइसक्नुभएको छ। उहाँले विपक्षीप्रति गर्ने टिप्पणी, आफ्नै पार्टीको विपीक्षहरुसँग गरेको व्यवहार, फरक विचार राख्नेसँग गरेको व्यवहार देखेर भन्न मन लाग्छ,’ राजधानीमा आयोजित कार्यक्रममा उनले भने, ‘उहाँले कांग्रेसबाट केही सिक्नु पर्दैन। मदन भण्डारी नामक पुस्तक पढ्नुभयो भने धेरै कुरा सिक्न सक्नुहुन्छ।’

उनले विपक्षी दलको रुपमा बोल्दै गर्दा वा प्रधानमन्त्रीको रुपमा बोल्दैगर्दा अर्को पार्टीको सभापतिको बारेमा भद्दा टिप्पणी गरेको आरोप लगाए। त्यसैले स्वच्छ ढंगले आलोचना, टिप्पणी र बहस गर्न उनले आग्रह गरे।

उनले जनताको बहुदलीय जनवाद भनेरमात्रै देश समृद्ध नबन्ने तर्क गरे। त्यसका लागि लागि राजनीतिक संस्कार पनि हुनुपर्ने उनले बताए।

‘त्यही भएर म आग्रह गर्न चाहन्छु, निर्वाचनमा स्वच्छ प्रतिस्पर्धा गरौं। हामीबाट केही सिक्न पर्दैन, कम्तिमा मदन भण्डारीलाई विश्वास गर्नुहुन्छ भने मदन भण्डारीकै विचार र संस्कार सिक्न आग्रह गर्छु,’ उनले भने।